दोलखाका ५० बनलाई कार्ययोजना हस्तान्तरण

सिंगटी २८ माघ
गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका ५० संरक्षित बन समूहलाई कार्ययोजना हस्तान्तरण गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आफ्नो प्रधान कार्यालय सिंगटीमा एक कार्यक्रम आयोजना गरी दोलखा जिल्ला भित्रका ५० संरक्षण वन व्यवस्थापन उपसमितिहरु कार्ययोजना हस्तान्तरण गरेको हो ।
साविकको सामुदायिक वन उपभोक्ता समूहहरुलाई नै गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले वन समूहको रुपमा मान्यता दिएको छ । संरक्षण क्षेत्र लागू हुनु पूर्व जिल्ला वन कार्यालयबाट कार्ययोजना स्वीकृती गराएर उनीहरु काम गर्दै आएका थिए । अहिले तिनै वनलाई संरक्षित वन समूहको रुपमा मान्यता दिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
‘हामीले पुरानो वन समूहलाई पुरानो अधिकार कटौती गरेका छैनौं’ उनले भने ‘वन आफ्नो सामुदायिक सम्पतीको रुपमा संरक्षण र उपभोग गर्नका लागि बरु पहिलाभन्दा अहिले अधिकार थपेर हस्तान्तरण गरेका छौं ।’ कार्ययोजनाहरु स्थानीय समूहसँगकै छलफलमा तयार गरेको उनले बताए ।
राष्ट्रिय प्रकृति कोषका सदस्य–सचिव गोविन्द गजुरेलले विकासका लागि संरक्षण्ण महत्वपूर्ण भएको बताए । सबैलाई बढाउन र तन्काउन सकिने भए तापनि प्रकृतिलाई बढाउन र विस्तार गर्न सकिन्न त्यसलाई संरक्षण गर्ने पर्ने बताए । पूर्वाधार विकासका लागि प्रकृति संरक्षणमैत्री भई दिनका लागि गाउँपालिकाका अध्यक्षहरुलाई अनुरोध गरे ।
कार्ययोजना हस्तान्तरण कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले विकासका लागि संरक्षण क्षेत्र आयोजना सहयोगी हुनु पर्ने बताए । गौरीशंकर संरक्षण क्षेत्र आयोजना दोलखाका साविक १४ गाविस र हालको गौरीशंकर गाउँपालिकाका ५, ६, ७, ८ र ९ विगू गाउँपालिकाको वडा नं. ८ बाहेक सबै र कालिञ्चोक गाउँपालिकाको वडा नं. १ पर्छ ।
गौरीशंकर संरक्षण क्षेत्र भित्र गौरीशंकर हिमाल लगायतका रोल्वालिङ र जुगल हिमश्रृखला, च्छोरोल्पा हिमताल सहित विभिन्न तालहरु समेत पर्दछ ।

Shares

Be the first to comment on "दोलखाका ५० बनलाई कार्ययोजना हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*