इश्वर बिश्वकर्मा. चरिकोट,–स्थानीय तहमा निर्वाचित भएर जनप्रतिनिधि आएको साढे तिन बर्ष भएपनि दोलखाको स्थाीय सरकार अझै पनि भाडाको घरमा सञ्चालित छन् । २ नगरपालिका र ७ गाउँपालिका गरी ९ पालिका रहेको दोलखामा धेरै जसो स्थानीय सरकारले आफ्नै भवनबाट सेवा प्रवाह गरेता पनि केहिले भने अझै भाडाको घरबाटै सेवा प्रवाह गरिरहेका हुन् । स्थानीय पालिकाको र वडाको आफ्नै भवन नहुँदा व्यक्तिको भाडाको घरबाट सेवा प्रवाह गरिरहेका छन् । कतिपय वडाले भने अन्य सरकारी भवन, स्वास्थ्य चौकीको भवन, सामुदायिक भवन र सहकारीको भवन प्रयोग गर्नुपर्ने बाध्याता रहेको जनाएका छन् । वर्षौँसम्म भाडा तिरेर कार्यालय राख्दा लाखौं रुपैयाँ खर्च हुने गरेको छ । जिल्लाको पुरानो र पहिलो भीमेश्वर नगरपालिकाको ४ वटा वडा कार्यालय अझै भाडाको घरमा सञ्चालित रहेको छ । त्यस्तै जिरी नगरपालिकाको २ वटा वडाले प्रशासनिक कामकारवाही भाडाको घरबाट गरिरहेको छ। दुबै नगरपालिकाको गरी ६ वटा वडाले भाडाको घरबाट दैनिक सेवा प्रवाह गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुको समयावधि सकिन लाग्दा पनि अझै वडा कार्यालयहरु भाडा मुक्त हुन नसकेका हुन् । भीमेश्वर नगरपालिकाको वडा नं. २, ५, ७ र ९ को सेवा भाडाको घरबाट प्रवाह भईरहेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले बताए । वडा नं. ९ को दुई वटा सेवा केन्द्र र एक सम्पर्क कार्यालय रहेका छन् ।
वडाको सुर्केस्थित सेतीचन्द्रभूमी प्राङ्गारिक कृषि सहकारीको भवनमा भाडामा सेवा केन्द्र्र सञ्चालित छ । भने खरिढुङ्गामा सत् संग व्यास नेपालले निर्माण गरेको सामुदायिक भवनमा वडाको सेवा केन्द्र्रबाट सेवा प्रवाह हुदै आएको छ । यस नगरपालिकाको केहि वडा पुर्नसंरचना गरिने योजना पनि रहेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।
जिरी नगरपालिकाको वडा नं. ५ र ६ को सेवा प्रवाह भाडाको घरबाट हुदै आएको उपाध्यक्ष कृष्णमाया बुढाथोकीले बताइन् । अबको २ बर्षमा दुबै नगरपालिकाको क्रमशः सबै वडा कार्यालयको आफ्नै भवन भई भाडा मुक्त हुने जनाएका छन् । भीमेश्वर नगरपालिकाको वडा नं. १ को कार्यालय पुरानो गाविस भवनमा रहेको छ, भने वडा नं. ३ को कार्यालय जिल्ला समन्वय समितिको भवनमा रहेको छ । वडा नं. ८ को कार्यालय स्वास्थ्य चौकीको भवनमा सञ्चालित छ । वडा नं. ४ र ६ को भने आफ्नै सुविधा सम्पन्न भवन रहेका छन् । त्यस्तै जिरी नगरपालिकाको वडा नं. ३ को कार्यालय पहिलेको गाविस भवनमा र वडा नं. ८ को कार्यालय स्वास्थ्य चौकीको भवनमा सञ्चालित छ । दुबै नगरपालिकाको कार्यालयको सेवा भने आफ्नै भवनबाट प्रवाह भईरहेको छ ।
Be the first to comment on "दोलखाका २ नगरपालिकाका ६ वटा वडा भाडाको भबनबाट संञ्चालनमा"