दोलखाका स्थानीय तहहरुको बेरुजु २८ करोड पुग्यो

शेरबहादुर भुजेल

दोलखाका स्थानीय तहहरुको बेरुजु रकम सवा २८ करोड पुगेको तथ्य सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७४÷७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार दोलखाका सात गाउँपालिका र २ वटा नगरपालिका र जिल्ला समन्वय समिति समेतको गरी बेरुजु रकम सवा २८ करोड पुगेकोे हो ।जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकाको महालेखापरिक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार उनीहरुको बेरुजु रकम रु. २८ करोड ३० लाख ६६ हजार आठ सय ४४ पुगेको तथ्य शनिवार दोलखा सदरमुकाम चरिकोटमा आयोजित साझा सभा बहस कार्यक्रम सार्वजनिक भएको छ ।
कार्यक्रममा सार्वजनिक गरिएको तथ्य अनुसार जिल्लामा सबैभन्दा कम बेरुजु शैलुङ गाउँपालिकाको २४ लाख २१ हजार र सबैभन्दा बढि गौरीशंकर गाउँपालिकाको ७ करोड ५१ लाख ६० हजार बेरुजु रहेको छ । कालिञ्चोक गाउँपालिकाको सात करोड ३२ लाख ४४ हजार चार सय १०, विगु गाउँपालिकाको सात करोड २१ लाख ४३ हजार तीन सय ७८, भीमेश्वर नगरपालिकाको ३२ लाख १६ हजार, तामाकोशी गाउँपालिकाको ३२ लाख ९३ हजार, मेलुङ गाउँपालिकाको ३६ लाख ५७ हजार, बैत्यश्वर गाउँपालिकाको दुई करोड ४६ लाख ८६ हजार, जिरी नगरपालिकाको एक करोड ८४ लाख ८४ हजार र जिल्ला समन्वय समितिको ६७ लाख ३९ हजार बेरुजु पुगेको छ ।
स्थानीय तहहरुको खर्च गर्ने क्षमता घट्दै जानु र गरेको खर्चमा पनि बेरुजु बढ्दै जानुले जिल्लाको समग्र विकासको प्रक्रियामा नकारात्मक असर पर्ने कार्यक्रमका सहभागीहरुले गुनासो गरेका थिए । बेरुजु देखिएको रकममध्ये पनि करिब १३ करोड असुली गर्नु भन्ने महालेखाद्धारा गरिएको स्थानीय तहहरुको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खर्च गर्ने क्षमता घट्दै जानु र गरेको खर्चको पनि बेरुजु आउनुले जिल्लाका स्थानीय तहहरुले वित्तीय अनुशासन विपरित खर्च गर्ने गरेको स्पष्ट हुने कार्यक्रमका सहभागीहरुले गुनासो गरेको थिए ।विना प्रतिष्पर्धा खरिद, गाडी भाडा, इन्धन, पदाधिकारी बैठक खर्च तथा पेश्की, दोहोरो सुविधा, घाइते उपचार, सम्झौताभन्दा बढि भुक्तानी, अग्रिम आयकर, भ्याट, असंम्वन्धित शीर्षक खर्च, मेशिन खर्च लगायतका शीर्षकहरुमा खर्च गरिएको भन्दै महालेखाले प्रतिवेदनमा बेरुजु राखेको छ । ति मध्ये आधाभन्दा बढि असुल गर्नु पर्ने र बाँकीलाई विभिन्न प्रक्रिया पुरा गरेर नियमित गर्नु पर्ने निर्देशन गरेको छ । यसै गरी कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले कर्मचारीहरुले रकम खर्च गर्दा अपनाउँनु पर्ने आवश्यक ज्ञान र सिपको अभावले गर्दा बेरुजु रकम बढी देखिएको बताए । अहिले आफुहरुले बेरुजु कम गर्न प्रयास गरी रहेको जानकारी दिए । अध्यक्ष थामीले लेखापरीक्षण गर्न आउने लेखापरीक्षकहरुले खर्चको पुर्ण जानकारी नलिई बेरुजु देखाउने गरेको टिप्पणी गरे । आफ्नो गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अग्रेजी माध्यमबाट पठन पाठन हुने भए पछि गाउँपालिकाले अग्रेजी माध्यमका पाठ्य पुस्तक खरिद गर्दा समेत त्यसलाई बेरुजुमा राखिएको बताए ।


बेरुजु घटाउन प्रयास गर्छु – जिसस प्रमुख पाण्डे

साझा सभा कार्यक्रममा प्रमुख बक्ताको रुपमा सहभागी हुनु भएका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जिल्लाका स्थानीय तहहरुको बेरुजु रकम फछ्र्योटका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । स्थानीय तहमा कर्मचारीको अभाव र काम गर्ने प्रष्ट काननुी प्रक्रियाको अभाव र अनुभवको कमीले गर्दा बेरुजु रकम देखिएको भन्दै यसलाई घटाउन सक्दो प्रयास गर्ने पाण्डेले बताए । सो कार्यक्रममा पाण्डेले महालेखा परीक्षकको कार्यालयबाट खटिएका केही लेखापरीक्षकहरुले केही स्थानीय तहको नियतबस बेरुजु देखाएको भन्दै अहिले दोलखाका स्थानीय तहहरु बेरुजु घटाउने अभियानमा सक्रियतापुर्वक लागेको बताए । कार्यक्रममा पाण्डेले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुने बताउदै जनप्रतिनिधिसँग अभ्यस्त नभएका कर्मचारी र कर्मचारीसँग अभ्यस्त नभएका जनप्रतिनिधिका कारण पनि समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा कमीकमजोरी सुधार हुँदै जाने बताए ।
यसै गरी कार्यक्रममा विषय विज्ञ वक्ताको रुपमा सहभागी हुन भएका भीमेश्वर नगरपालिका दोलखाका बरिष्ठ लेखापरीक्षण अधिकृत जगदिश अर्यालले रकम खर्च गर्दा कानुनी पक्षहरुको पालना नगर्दा, सैद्धान्तिक पक्षको कम ज्ञान हुने र प्रविधिको प्रयोगगर्दा हुने कमजोरीहरुले बेरुजु देखिने गरेको बताए । बेरुजु भ्रष्टाचार नभए पनि भ्रष्टाचारको नियत भने देखिने बताए । स्थानीय तहहरुले रकम खर्च गर्दा पुर्ण रुपमा कानुनी पक्षहरुको पालना गरे बेरुजु कम हुने बताए । सो अवसरमा अर्यालले वित्तिय अनुशानस र सुशासन कायम गर्ने हो भने बेरुजु घटाउनु पर्ने बताए ।
जिल्लाको बढ्दो बेरुजुलाई न्युनीकरणका उपाय खोज्दै वित्तिय अनुशासन र सुशासनका लागि पहल गर्ने उद्धेश्यका साथ आयोजित कार्यक्रममा जिल्ला स्थित नागरिक समाज अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण युवा सञ्चारकर्मी शरद सापकोटाले गरेका थिए ।

Shares

Be the first to comment on "दोलखाका स्थानीय तहहरुको बेरुजु २८ करोड पुग्यो"

Leave a comment

Your email address will not be published.


*