इश्वर बिश्वकर्मा /चरिकोट, – दोस्रो लहरको कोरोना संक्रमणबाट प्रभावित बनेका सात स्थानीय तह सात महिनापछि कोरोना संक्रमण मुक्त भएको छ । नयाँ संक्रमित थपिने क्रम रोकिएको र संक्रमित भएकाहरु पनि सबै निको भएपछि सात स्थानीय तह संक्रमण मुक्त भएको हो । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको जिल्लाको जिरी नगरपालिका, गौरीशंकर, विगु, तामाकोशी, शैलुङ, मेलुङ र बैतेश्वर गाउँपालिकामा कोरोना संक्रमणका बिरामी शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको अनुसार जिरी नगरपालिका दोस्रो लहरको कोरोना संक्रमणबाट एक सय ७३ पुरुष र एक सय २९ महिला गरी तीन सय जना, गौरीशंकर गाउँपालिकामा ९८ पुरुष र ६५ महिला गरी १६३ जना, विगु गाउँपालिकामा एक सय ८१ पुरुष र ८४ महिला गरी दुई सय ६५ जना संक्रमित भएकोमा अहिले सबै निको भइसकेका छन् । तामाकोशी गाउँपालिकामा तीन सय २३ पुरुष र दुई सय ९० महिला गरी छ सय १३ जना, शैलुङ गाउँपालिकामा एक सय १२ पूरुष र ८० महिला सहित एक सय ९२ जना संक्रमित भएका थिए । मेलुङ गाउँपालिकामा एक सय ६ पुरुष र ९६ महिला सहित दुई सय २ जना र बैतेश्वर गाउँपालिकामा एक सय ४१ पुरुष र एक सय ४४ महिला गरी दुई सय ८५ जनामा संक्रमण भएको थियो । हाल उहाँहरु सबै संक्रमण मुक्त भईसकेको कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा एक–एक जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन् । ती मध्ये नगरपालिकामा एक महिला र गाउँपालिकामा एक महिला संक्रमित भएका हुन् । उनीहरु होम आइसोलेसनमा बसिरहेका छन् । भीमेश्वर नगरपालिकामा सात सय ६५ जना पुरुष र छ सय ४८ महिला गरी एक हजार ४ सय १३ जना संक्रमित भएकोमा एक हजार ४ सय १२ जना निको भईसकेका छन् । त्यसैगरी कालिञ्चोक गाउँपालिकामा एक सय ५४ पुरुष र एक सय २७ महिला सहित दुई सय ८१ जना संक्रमित भएकोमा दुई सय ८० जना निको भएका छन् ।
१३ जनाको मृत्यु
कोरोना संक्रमणको दोस्रो लहरमा जिल्लामा १३ जनाले ज्यान गुमाए । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा आठ पुरुष र पाँच महिला रहेका छन् । भीमेश्वर नगरपालिका एक पुरुष, दुई पुरुष र एक महिला गरी तीन जना, विगु गाउँपालिकामा तीन पुरुष र एक महिला गरी चार जना, शैलुङ गाउँपालिकामा दुई पुरुष, मेलुङ र बैतेश्वर गाउँपालिका एक–एक जना महिलाको मृत्यु भएको हो । जिल्लामा हालसम्म पाँच हजार ८ सय ७४ वटा नमूना स्वाबको पिसीआर र चार हजार दुई ८९ वटा नमूना स्वाबको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लामा गत भदौ यता कोरोना संक्रमण घट्दै गई हाल न्यून भईसकेकोले स्वाब संकलनदेखि परीक्षण गर्ने सम्मको गतिविधि हुन छाडेको छ । कोरोना कालमा बिरामीले खचाखच भएको अस्पतालका आइसोलेसन अहिले खाली भएको छ ।
Be the first to comment on "दोलखाका स्थानीयतह कोरोना संक्रमण मुक्त हुँदै"