दोलखाका सबै वडाध्यक्षहरु चरिकोटमा भेला

दीक्षण समाचार
चरिकोट, भदौ २९
दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ । वडाध्यक्षहरुका लागि जिल्ला समन्वय समिति दोलखा र प्रदेश सुशासन केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटनको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले गर्नु भयो ।
उहाँले स्थानीय तहको कार्य सम्पादन र सेवा प्रवाहलाई प्रभावकारी बनाई नागरिकलाई खुशी तुल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले ज्ञान, सिप, दक्षता र क्षमता अभिवृद्धि भएमा स्थानीय स्रोतसाधनको सही परिचालन गर्दै सेवा प्रवाह सोचे अनुरुप दिन सकिने भएकोले क्षमता अभिवृद्धिका लागि जनप्रतिनिधिहरु सदैव तयार हुन पर्ने सुनाउनु भयो ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले गत बैशाखमा निर्वाचित नयाँ वडाध्यक्षहरुबाट सम्पादित हुने कार्यहरु त्रुटी रहीत र उत्कृष्ट बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सुनाउनु भयो । नयाँ वडाध्यक्षहरु वडा सञ्चालन गर्न अभ्यास गरिरहेको अवस्थामा उनीहरुको क्षमता अभिवृद्धि गराउन अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जिसस प्रमुख घतानीले बताउनु भयो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले वडाध्यक्षहरुले शासक नभई नागरिकको अभिभावक र मार्गदर्शकको रुपमा काम गर्नु पर्ने उल्लेख गर्नु भयो । संघिय संरचनामा वडाध्यक्षहरु नागरिकको नजिकको अभिभावक रहेको र अभिभावक कस्तो हुनुपर्छ भन्ने कुरा भनिरहन नपर्ने उहाँले सुनाउनु भयो ।
बिहीबारसम्म सञ्चालन हुने कार्यक्रममा वडाध्यक्षको काम, कर्तव्य र अधिकार, स्थानीय सरकार सञ्चान ऐन, योजना तर्जुमा कार्यान्वयन, राजस्व संकलन, पञ्जीकरण, सिफारिस लगायतका विषयमा प्रशिक्षण गरिने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका सबै वडाध्यक्षहरु चरिकोटमा भेला"

Leave a comment

Your email address will not be published.


*