राजकुमार भुजेल
चरिकोट, जेठ १२
दोलखामा जेठको पहिलोसाताबाटै शिक्षण संस्थाहरु खुलेपनि पाठ्यपुस्तक अभावले पठनपाठन कार्यमा समस्या भएको छ । सरकारले निर्वाचनको लागि मतपत्र छाप्न समय खर्चिदाँ पाठ्यपुस्तक छपाईमा भने ढिलाईँ हुँदा यस्तो परिस्थिति उत्पन्न भएको हो ।
पुरानो कक्षाबाट उत्तीर्ण भएर नयाँ कक्षा गएपछि खुसी भएका विद्यार्थी पाठ्यपुस्तकको अभावमा पढ्न नपाउँदा निराश छन् । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जेठ पहिलो सातादेखि नै विद्यालयमा कक्षा सञ्चालन भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षा हासिल गर्ने अवसरबाट विद्यार्थी वन्चित हुनु परेको छ ।
शिक्षक र विद्यार्थी नै दिनदिनै विद्यालयमा हाजिर हुँदै ’पर्ख र हेर’को अवस्थामा पाठ्यपुस्तकको प्रतीक्षामा छन् । तर शिक्षण संस्थाहरु सञ्चालन भएको दुई साता बित्नै लाग्दा पनि पाठ्यपुस्तकविहीन कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थीहरु रित्तो झोला बोकेर विद्यालयमा दिनहुँ हाजिर गर्नकै लागि मात्र विद्यालयको कक्षाकोठामा उपस्थित हुन बाध्य छन् ।
जिल्लामा विषेशगरी सरकारी विद्यालयका विद्यार्थीहरु पाठ्यपुस्तकको अभावले मर्कामा परिरहेका छन् । पुस्तक पसलहरुमा चाहार्दा पनि नयाँ पाठ्यपुस्तक नपाएपछि जिल्लाका हजारौं विद्यार्थीहरु पूराना र प्रयोग भइसकेका पुस्तकहरू खोज्न थालेका छन्, भने केही शिक्षक र विद्यार्थी भने अझै पनि पुस्तक पसलहरुमा दैनिक जसो “किताब आयो” भनेर सोध्न जान थालेका छन्। तर जिल्लामा रहेका अधिकांश पुस्तक पसलेको एउटै जस्तो जवाफ हुन्छ । “तपाईले खोज्नु भएको किताब आएकै छैन । आएपछि खबर गरौंला ।” यस्तो जवाफ पाएपछि शिक्षक र विद्यार्थीहरु त्यतिकै फर्किने गरेका छन् ।
चरिकोटमा रहेका पुस्तक पसलहरुमा पुस्तकका माग बढेको छ । तर पुस्तक नआएपछि पुस्तक माग गर्दै आउनेहरु त्यतिकै फर्काउन बाध्य हुन परेको पुस्तक व्यवसायी प्रकाश कार्कीले बताउनुभयो । उहाँको पसलमा दैनिक २० देखि २५ जना सम्म शिक्ष तथा विद्यार्थीहरु पुस्तकको लागि आउने गरेका छन् । विषेशगरी सामुदायिक विद्यालयमा पुस्तकको अभाव धेरै देखिएको छ । तर त्यसको आपूर्ति हुन नसक्दा विद्यालयहरु समस्यामा परेका छन् । पशुपति कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द श्रेष्ठले जेठ १ गतेदेखि नै विद्यालय कक्षा सञ्चालन भएपनि आधारभूत कक्षादेखिकै पाठ्यपुस्तक प्राप्त नहुँदा पठनपाठनमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार विद्यालयले अझै केही दिन पाठ्यपुस्तक प्रतिक्षा गर्नुपर्ने भएको छ । “विद्यालय सञ्चालन भईरहेको छ । विद्यार्थी पढ्न र शिक्षकहरु पढाउन उपस्थित भइरहेका छन् ।” उहाँले भन्नुभयो “ तर समस्या किताबको बन्यो । किताबको लागि विभिन्न डिलरसँग सम्पर्क गरियो । तर केही दिन पर्खिनुपर्ने देखिएको छ ।”
पाठ्यपुस्तक अभावले गर्दा विद्यार्थीहरुको नयाँ कक्षामा नयाँ पुस्तक पढ्ने चाहनामा तत्कालका लागि तुषारापात भएको छ । यसले अभिभावक र शिक्षकलाई समेत चिन्तित बनाएको छ । यो समस्या देशैभर देखिएको छ । तर यसको समाधानका लागि विभिन्न जिल्लाबाट आवाज बुलन्द भईरहेका छन् । यत्ता विद्यार्थीहरु भने ह्वाइटबोर्ड हेर्दै पाठ्यपुस्तक प्राप्त हुने आशामा रहेका छन् ।
Be the first to comment on "दोलखाका विद्यार्थी पाठ्यपुस्तकको पर्खाइमा"