दोलखाका मतदाताहरु उत्साहित

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ३०
के गाउँ, के सहर । देशै निर्वाचन मय भएको छ । देशको भाग्य र भविष्यसँग जोडिएको निर्वाचन नजिकिँदै गर्दा जताततै माहोल तातेको छ । अहिले तीव्र प्रचारप्रसारमा व्यस्त उम्मेदवारलाई चुनावी परिणाम अरुको पोल्टामा पार्न दिन्न भन्ने आत्मविश्वास उत्तिकै छ । निर्वाचनको प्रजातान्त्रिक महाउत्सव आउन लाग्दा मतदाता भने त्यसैको व्यग्र प्रतिक्षामा छन् । उनीहरूले आफ्नो अमूल्य मतदान गरेर पाँच बर्षको लागि प्रदेशसँगै देशको नयाँ नेतृत्व चयन गर्न आतुर रहेको बताएका छन् । उम्मेदवारको भीडमा कसलाई मतदान गर्ने, कसरी मतदान गर्ने, निर्वाचन सुरक्षित हुने वा त्रासदीपूर्ण हुने लगायतका विषयमा थोरै चिन्ता भएपनि अधिकांश मतदाता आफू उत्साहित भएको बताएका छन्।
निर्वाचनमा सहभागी हुन आतुर रहनुभएका दोलखाका सुर्वण श्रेष्ठले भन्नुभयो “धान भित्र्याउने काम सकियो । अब गहुँ छर्ने पालो आयो । तर त्यो भन्दा ठूलो चुनाव आयो । मतदान गर्न उत्साहित छु ।”
उहाँले यस अघि राम्रालाई मतदान नगर्दा पछुताउनु परेकोले यो पटकको निर्वाचनमा त्यो भूल पुनः नगर्ने बताउनुभयो । उहाँले यो निर्वाचन विगतमा गरेको गल्ती सच्याउने सुनौलो मौका भएको बताउनुभयो “निर्वाचन नजिकै आइरहँदा कुन उम्मेदवारलाई आफ्नो अमूल्य मतदान मतदान गर्ने ? यसले थोरै चिन्ता दिएको छ ।” उहाँले भन्नुभयो “पहिले जस्तो गल्ती गर्दिन। राम्रो र असल उम्मेदवारको पक्षमा त्रुटी रहित मत खसाल्ने हो ।”
स्थानीय तहको निर्वाचनमा मतदानबाट वञ्चित हुँदा सुष्पाक्षमावतीका उद्दव थामी दुखित हुनु भएको थियो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका कारण उमेर पुगेपनि उहाँले मताधिकार प्रयोग गर्न पाउनु भएको थिएन । तर नाम दर्ता गराएपछि यो निर्वाचनमा उहाँले पनि पहिलो पटक मतदान गर्न लाग्नु भएको छ । पहिलो पटक भएकोले प्रक्रिया र विधि नमिल्दा आफ्नो मत बदर हुने थोरै डर लागेपनि निर्वाचन नजिकिँदै गर्दा उत्साह र उत्सुकता जागेको उहाँले सुनाउनुभयो । मत बदर हुने मात्र नभई निर्वाचनमा स्वतन्त्र र स्वतस्फूर्त सहभागी हुन पाउने वा नपाउने भन्नेमा समेत थोरै चिन्ता लागेको उहाँले सुनाउनुभयो।
“यसअघि नामवलीमा नाम दर्ता नभएकोले मतदान गर्न पाइन । यो निर्वाचनमा भने मैले पनि मतदान गर्दैछु ।” उहाँले भन्नुभयो “अलिकति डर त लागिहाल्छ नै । तर डरको दाँजोमा उत्साह र कौतुहलता बढी नै छ ।” मतदान प्रक्रिया र उम्मेदवारको व्यक्तित्व र एजेण्डाको विषयमा जानकारी लिएर मतदान प्रक्रियामा सहभागी हुने उहाँले बताउनुभयो।
गैरीमुदीका सिताराम तामाङले अरु कामलाई केही घण्टा थाती राखेर सुर्योदयसँगै मतदानमा सहभागी हुन हतार लागिरहेको बताउनुभयो । “कति बेला निर्वाचन आउला र सुरुमै गएर मत खसाउला भन्ने भएको छ ।” उहाँले भन्नुभयो “ तर निर्वाचन बिथोल्ने, बुथ कब्जा हुने लगायतका अपराधिक गतिविधि हुने डर पनि रहेको छ । सुरक्षा व्यवस्था कस्तो पार्या छन् कुन्नि ।”
क्षणिक लाभमा भविष्य अन्धकार हुने
चुनावमा मतदातालाई क्षणिक लाभ प्रदान गरी मत तान्न चलखेल हुने गरेका छन्। विगतमा भएका चुनावलाई फर्केर हेर्ने हो भने त्यस्ता गतिविधि भएका थुप्रै उदाहरण पाउन सकिन्छ। तर यो पटक त्यस्ता गतिविधि हुन नदिन सजग हुनुपर्ने मतदाता स्वयं बताउँछन् । यसले मतदातामा सचेतना र परिवर्तनको सोचाइ बढेको पुष्टि हुन्छ ।
मतदाता समीक्षा श्रेष्ठले लोकतन्त्र र संविधानको सबलता तथा देशको भविष्य निर्धारण गर्ने आधार निवार्चन भएकोले यसप्रकारको जागरण हुन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो “क्षणिक लाभ र लोभको पासोमा परेरलाई देशलाई धरापमा पार्न मतदाताले भूमिका निर्वाह गर्नु हुँदैन ।” उहाँले भन्नुभयो “देश र जनताको दीर्घकालीन लाभ र स्वार्थका लागि काम गर्नेलाई चिनेर मतदान गर्नुपर्छ ।” उहाँले गलत व्यक्तिको प्रभाव र दवाबमा परेर मतदान गरी जिताउँदा पछि पछुताउनु र गाली गर्नु बाहेक विकल्प नहुने भएकोले मत पत्र खसाल्नुअघि एक पटक भित्री मनदेखि विचार गर्न सबै मतदातालाई आग्रह गर्नुभयो ।

Shares

Be the first to comment on "दोलखाका मतदाताहरु उत्साहित"

Leave a comment

Your email address will not be published.


*