दोलखाका बजारमा चहलपहल बढ्यो

इश्वर बिश्वकर्मा /चरिकोट, – आइतबार हिन्दु धर्मावलम्बीहरु महान चाड दशैँको चौथो दिन । यो दिन पनि बजारमा किनमेल गर्ने मानिसहरु भीड छ । दशैँमा नयाँ कपडा लाउने र मिठो खाने परम्परा चलिआएको छ । यही परम्पराअनुरुप दोलखाको विभिन्न बजारमा नयाँ कपडा र खाद्य सामग्री किन्ने मानिसहरुको भीड लागेको हो ।

जिल्ला सदरमुकाम चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, भैँसे, मागादेउराली बजारको खाद्यन्न, फलफूल, कपडा, कस्मेटिक पसलहरुमा मानिसहरुको भीड लागेको देखिन्छ । दशैँको सूरुवात भएसगैँ किनमेल बढ्दा व्यापारीव्यावसायीहरु उत्साहित भएका छन् । कोरोनाको कारण ओरालो लागेको व्यापार दशैँ लागेसँगै चम्किएको छ । चार दिनको अवधिमा चरिकोटमा व्यापारबाट मनग्य आम्दानी भएको व्यापारीहरुले बताएका छन् ।

सडकको फुटपाथमा सञ्चालन गरिएको कपडा पसलमा विषेश गरी ग्राहकको आकर्षण बढेको छ । सटर भाडामा सञ्चालित फेन्सी तथा कपडा पसलमा भन्दा पुटपाथमा सस्तो दाममा रोजेअनुसारको कपडा पाइने भएकोले खरीदका लागि आउनेहरुको संख्या उत्साहजनक रहेको छ । यसले फुटपाथमा पसल चलाउनेहरुको आम्दानी थपिएको छ । सटर भाडामा चलेका पसलमा उस्तै कपडालाई मंहगो दाम पर्छ तर फुटपाथमा सुपथ मूल्यमैँ पाउन सकिन्छ । कपडा उही दाम भने फरक । निम्न आय भएकोलाई फुटपाथका पसलले राम्रा र नयाँ लुगा लगाउने चाहना पुरा गरिदिएको छ । त्यसैगरी बजार क्षेत्रमा सञ्चालित खाद्यान्न तथा मासु पसलहरुमा अनुगमन टोली अनुगमन गरी उपभोक्ता अधिकार विपरितको कार्य नगर्न सचेत गराइएको छ ।

दशैँ लागेसगैँ जिल्लामा सवारी साधनमा यात्रुको भीड छ । कोरोनाको कारण पाँच महिना थन्किएका गाडीले गुड्न पाउँदा र सिट भर यात्रु पाउँदा गाडी चालकहरु खुसी भएका छन् । यद्यपी दशैँको मौका छोपेर निर्धारित बाहेक अतिरिक्त भाडा लिएर ठग्ने गाडीहरु पनि बढ्न थालेको छ । यसलाई रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले किर्ने र खरिढुँगा नाकामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । त्यसैगरी सातदोबाटो र सिंगटीमा पनि यात्रुको गुनासो सुन्न र सम्बोधन गर्न यात्री कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भानुभक्त नेपालले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखाका बजारमा चहलपहल बढ्यो"

Leave a comment

Your email address will not be published.


*