दोलखा प्रवेश गर्ने नाकामा हेल्थडेक्स स्थापना

हिरालाल बराल
चरिकोट, बैशाख १५
समुदाय स्तरमा कोरोना फैलिन नदिन दाेलखा प्रवेश गर्ने २ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । ८ बैशाखमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार काठमाडौँबाट जिल्ला प्रवेश गर्ने खरिढुंगा र रामेछाप हुदैँ प्रवेश गर्ने किर्नेमा हेल्थडेक्स स्थापना गरिएको हो । स्वास्थ्य कार्यालय दोलखाको समन्वय र भीमेश्वर नगरपालिका र तामाकोशी गाउँपालिकाले हेल्थडेक्स स्थापना गरी जिल्ला प्रवेश गर्ने यात्रुहरुको निगरानीका साथै स्वास्थ्य जाँच तथा विवरण राख्ने गरेको छ । किर्नेमा आइतबारदेखि र खरिढुंगामा मंगलबारदेखि हेल्थडेस्क स्थापना गरी सञ्चालनमा ल्याइएको पालिकाहरुले जनाएका छन् । भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले खरिढुंगा सहरी स्वास्थ्य केन्द्र परिसरमा हेल्थडेक्स स्थापना गरिएकाे जानकारी दिए । जहाँ केन्द्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले स्वास्थ्य परीक्षण र यात्रुको विवरण राख्ने गरेका छन् । यस्तै तामाकोशी गाउँपालिकाको किर्नेमा बैशाख १० देखि १ जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी परिचालित हुने गरी हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । अन्य जिल्लाहरुमा निषेशाज्ञा लगाइएको छ । जसले गर्दा ति जिल्लाबाट व्यक्तिहरु दोलखा फर्कन थालेका छन् । जसले गर्दा कोरोनाको जोखिम हुन सक्छ । त्यसैले यसलाई मध्यनजर गरी हेल्थडेक्स स्थापना गरिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले बताए । सवारी साधनमार्फत् अन्य जिल्लाबाट फर्किएका व्यक्तिहरुको स्वास्थ्य अवस्था ठिक भएनभएको हेल्थडेक्समा रहेका स्वास्थ्यकर्मीले परीक्षण गर्छन् । अनि कुनै समस्या नदेखिएमा जिल्ला प्रवेश गराउछन् । यदि कुनै समस्या वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको व्यक्तिलाई क्वारेन्टाइनमा सुरक्षित बस्नका लागि समन्वय गरिने छ। सवारीसाधन छुटेको स्थान, यात्रुको संख्या, मास्कको प्रयोग, यात्रुको पुरा विवरणसहितको अभिलेख हेल्थडेक्समा राखिने गरिएको छ । यसले गर्दा अन्य जिल्लाबाट फर्किएका व्यक्तिहरुमा पछि कोरोना देखिएमा कन्ट्याक्ट ट्रेसिङमा सहज हुने बताइएको छ ।

Shares

Be the first to comment on "दोलखा प्रवेश गर्ने नाकामा हेल्थडेक्स स्थापना"

Leave a comment

Your email address will not be published.


*