दोलखाका दुई कार्यालयको कार्यक्रम सार्वजनिक

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ २२
दोलखामा अवस्थित कृषि र किसानसँग सम्बन्धित कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम बुधबार चरिकोटमा सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाको चालु आवमा सञ्चालन एवं कार्यान्वयन हुने वार्षिक स्वीकृत कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले कार्यक्रमको उद्घाटन गर्दै पशु सेवा विज्ञ केन्द्र र परियोजनाले आफ्ना कार्यक्रम तथा योजनालाई प्रभावकारी कार्यान्वयन गरी उच्चम उपलब्धि र परिणाम निकाल्नुपर्ने बताउनु भयो । कार्यक्रमहरू सञ्चालनको क्रममा समन्वय र अनुगमनको पक्ष मजबुत भएमा मात्र त्यसले अपेक्षाकृत सफलता प्राप्त हुने नत्र समस्या र चुनौती उत्पन्न हुन सक्ने तर्फ सचेत हुन अनुरोध उहाँले गर्नुभयो ।
अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दा विषेश होसियारी हुनपर्ने बताउँदै उहाँले अनुदानको दुरुपयोगलाई शून्य बनाउन सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने सुनाउनुभयो । कार्यक्रमहरू दोहोरिन नदिन समेत सचेत हुन उहाँको आग्रह थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले समन्वय र सहकार्यको माध्यमबाट कार्यक्रम तथा गतिविधिहरूलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । उहाँले समस्या र चुनौतीहरूलाई परास्त गरी कानुन र अधिकारको पालना गर्दै सेवा प्रवाह तथा कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले समृद्धि र विकासको आधार कृषि र पशुपालन रहेको उल्लेख गर्नुभयो । उहाँले कृषिलाई जोड दिँदै भीमेश्वर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र त्यसले नागरिकहरूलाई लाभ मिल्ने बताउनु भयो । उहाँले पशु सेवा विज्ञ केन्द्र र परियोजना र स्थानीय तह बिचमा समन्वय एवं सहकार्य भएमा मात्र कृषिमा आत्मनिर्भर बन्न सकिने र अर्थतन्त्रलाई टेवा दिन सकिने बताउनु भयो ।
कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रका डाक्टर  ध्रुव जिसीले वार्षिक कार्यक्रम तथा बजेट बारे प्रष्ट पार्नु भयो । उहाँले कार्यक्रमहरू किसानलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने रहेको र त्यसको उपयोगिताले पशुपालन बढ्ने र पशुजन्य खाद्य सामाग्रीमा आत्मनिर्भरताका लागि सहयोग मिल्ने दाबी गर्नु भयो । उहाँका अनुसार चालु आवमा विज्ञ केन्द्रले कुल आठ करोड ५३ लाख प्राप्त गरेको छ । जसमा एक करोड ६८ लाख पुँजीगत र छ करोड ८४ लाख चालु शीर्षकको बजेट रहेको छ । पुँजीगत बजेटमा केन्द्रको भवन निर्माण शुभारम्भ हुनुका साथै कार्यालयलाई आवश्यक पर्ने औजार, मेसिन र फर्निचरका सामाग्रीहरू खरीद हुने छन् । चालु बजेट अन्तर्गत तालिम, अनुदान लगायतका कार्यक्रम सञ्चालन हुने डाक्टर जिसीले सुनाउनु भयो ।
कर्मचारी र भौतिक पूवार्धार अभावका कारण कार्यक्रम कार्यान्वयनमा चुनौती र सेवा प्रवाहमा असहजता भइरहेको डाक्टर जिसीले गुनसो गर्नु भयो । उहाँले चुनौतीपूर्ण र कठिन भएपनि बलबुत्ता भ्याएसम्म परिणाममुखी र सेवामुखी कार्यमा पशु सेवा विज्ञ केन्द्र तल्लिन रहेको दाबी गर्नुभयो । विज्ञ केन्द्रको समस्यालाई समाधान गर्दै आगामी दिनमा थप प्रभावकारी कार्य गरिने उहाँको जोड थियो ।
त्यसैगरी परियोजना कार्यान्वयन इकाईका प्रमुख प्रज्ञा श्रेष्ठले परियोजना मार्फत सञ्चालन भईरहेको किवी जोन र आलु जोन सम्बन्धित कार्यक्रमहरुको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा केन्द्र निमित्त प्रमुख पलट चौधरीले विगतका वर्षहरुमा केन्द्रले सेवा प्रवाह र कार्यक्रम सञ्चालनमा सके जति प्रभावकारीता कायम राखेको र यो वर्ष पनि त्यसलाई स्थानीय तहसँगको सहकार्य र समन्वयमा निरन्तरता दिइने बताउनुभयो । पशु सेवा विज्ञ केन्द्रको कार्य क्षेत्र दोलखा र सिन्धुपाल्चोक हो । यसको मुख्य कार्यालय भने दोलखा सदरमुकाम चरिकोटमा रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका दुई कार्यालयको कार्यक्रम सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*