दोलखाका तीन स्थानीय तहमा समानताको लागि सबै विद्यार्थीको एउटै पोशाक

ईश्वर बिश्वकर्मा
चरिकोट“ बोर्डिङ स्कुलमा पढ्ने साथीहरु राम्रा अनि सुन्दर कपडा लगाई चिटिक्क परेर स्कुल जान्थे । हामी भने फाटेकै अनि पुरानो ड्रेस लगाएर जान्थ्यौँ । कता कता हामीलाई हामीहरु पो कमजोरी हौँकी भन्ने लाग्थ्यो । अहिले बोर्डिङ र सरकारी स्कुलको उस्तै ड्रेस भएकाले हामी सबै एकै हौँ । हामीले पढ्ने विद्यालय एउटै महशुस भएको छ ।” यी भनाई हुन् दोलखाको सदरमुकाम चरिकोटमा रहेको नमुना विद्यालयको प्रक्रियामा रहेको विद्यालय कालिञ्चोक माविमा अध्ययनरत् विद्यार्थी प्रजेश श्रेष्ठको । उनलाई सामुदायिक र निजी विद्यालयको पोशाक एउटै र उस्तै किसिमको बनाइएकोमा खुसी लागेको र विद्यालय फरक हैन भन्ने महशुस भएको छ । विगत केही वर्ष देखि जिल्लाको केहि स्थानीय तहले सामुदायिक र निजी विद्यालय बिचको फरक कम गर्न विभिन्न रणनीति तथा योजना बनाउदैँ आएका छन् ।  यहि योजनालाई साकार पार्न जिल्लाको तिन स्थानीय तहले सामुदायिक र निजी विद्यालयको विद्यार्थीहरुमा समानताको महशुस गराउन एउटै किसिमको पोशाक निर्धारण गरि लागु गरेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकाले निजी सहित सामुदायिक विद्यालयको एउटै पोशाकका हुदाँ विद्यार्थीहरुमा समान छौँ, भन्नेको भावनाको विकास गराई विद्यालयप्रति आकर्षण गर्न एउटै किसिमको पोशाक निर्धारण गरि लागु गरेको हो । भीमेश्वर नगरपालिकाले गत वर्ष २०७५ देखि नै सबै विद्यालयको पोशाकमा एकरुपता निर्धारण गरेको नगरका शिक्षा शाखाका प्रमुख अर्जुन बहादुर कार्कीले बताए । सो कार्य ७ सय ५३ वटै पालिका मध्ये भीमेश्वर नगरपालिकाले पहिलोपटक सूरु गरेको र अहिले अन्य पालिकाले पनि अनुसरण गर्न थालेका उनले बताए ।
सामुदायिक विद्यालयका बालविकासदेखि कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुका लागि नगरले वार्षिक रुपमा पोशाक वितरण गर्ने गरेको छ । सोही पोशाकका लागि चालु वर्ष २०७६ का लागि २५ लाख रुपैँया विनियोजन गरिएको प्रमुख कार्कीले बताए । नगरपालिकामा सामुदायिक विद्यालय ४३ वटा रहेका छन् ।  निजी र सामुदायिक विद्यालयको पोशाक किसिमका भएकाले विद्यालयमा विद्यार्थीको नियमितता बढाएको, विद्यार्थीहरुको मनोबल बढेको, सामुदायिक विद्यालयमा भर्नादर बढेको नगरले जनाएको छ । त्यसैगरि जिल्लाको बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको माघ महिना देखि विद्यालयहरुको पोशाक एउटै किसिमको निर्धारण गरेको छ । पालिकाका अनुसार गाउँपालिकाका सामुदायिक विद्यालयका ३ हजार ६ सय १० जना विद्यार्थीहरुलाई एकै किसिमको पोशाक वितरण गरि विद्यालयको पोशाकमा एकरुपता भएको छ । गाउँपालिकाले बालकक्षा देखि ५ कक्षासम्मका विद्यार्थीका लागि नि ः शुल्क विद्यालय पोशाक वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यका अनुसार पालिकाको सबै सामुदायिक विद्यालयका बाल कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई नि ः शुल्क पोशाक वितरण गर्ने योजना पनि रहेको छ ।
गाउँपालिकाले विद्यालयको पोशाकमा एकरुपता ल्याएसगैँ पोशाकका लागि ४० हजार रुपैँया चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको उपाध्यक्ष आचार्यले बताए । गाउँपालिकाभित्र ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसैगरि जिल्लाको मेलुङ गाउँपालिकाले २०७५ को शैक्षिक सत्रबाट सामुदायिक र निजी विद्यालयका विद्यार्थीको लागि एउटै किसिमको पोशाक निर्धारण गरिएको पालिकाका प्रवक्ता हिरा थोकरले बताए । त्यसैगरि शिक्षक शिक्षिका निम्ती एकै किसिमको पोशाक निर्धारण गरिएकाले अनिवार्य रुपमा विद्यालयमा अध्यापन गर्न आउँदा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

Shares

Be the first to comment on "दोलखाका तीन स्थानीय तहमा समानताको लागि सबै विद्यार्थीको एउटै पोशाक"

Leave a comment

Your email address will not be published.


*