दोलखाका तीन विद्यालयमा सैन्य तालिम

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ ६
दोलखाको तीन विद्यालयमा साउनदेखि विद्यार्थीहरूका लागि एनसीसी तालिम सञ्चालन भइरहेको छ । विद्यार्थीमा सैन्य सम्बन्धी आधारभूत ज्ञान, सीप र क्षमताको विकास गर्ने र परिआएको बेला सीपको उपयोग गर्ने उद्देश्य सहित जिल्लाको कालिञ्चोक मावि चरिकोट, भीम मावि र त्रिपुरा ग्लोरियस एकेडेमीमा तालिम सञ्चालन भएको हो ।
राष्ट्रिय सेवा दलको जुनियर डिभिजन अन्तर्गत निर्धारित मापदण्ड पूरा गरी छनौट भएका विद्यार्थीहरूका लागि सैन्य तालिम सञ्चालन गरेको हो । चरिकोटमा अवस्थित तारादल गणका अनुसार विद्यालयहरूमा राष्ट्रिय सेवा दलले विद्यार्थीलाई सैन्य सम्बन्धी सैद्धान्तिक र व्यवहारिक आधारभूत ज्ञान दिनुका साथै नियमित अभ्यास समेत गराइरहेका छन् । ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरू सहभागी रहेको तालिम कार्तिक १७ गते समापन हुने बताइएको छ । विद्यार्थीहरू विद्यालय समय बाहेक अरु समयमा सैन्य सीप र कला विकासका लागि अभ्यासमा अभ्यस्त हुने गरेका छन् । तालिममा विषेश गरी ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, जुडो, आर्किडो अभ्यास भइरहेको छ । यस्तै भाषणकला, खेलकुद र सांस्कृतिक गतिविधि समेत सञ्चालन हुने गरेको छ । तालिमले विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा सहयोग मिल्ने छ । उनीहरूलाई अनुशासित बनाउनुका साथै राष्ट्रप्रेम र सेवा भावको विकास हुने छ । जीवनमा आउने सुरक्षा चुनौतीलाई समेत व्यवस्थापन गर्न सहजता मिल्ने छ । अनुशासित, वफादार, नेतृत्ववान, कर्मठ र देशभक्त नागरिकको उत्पादन गर्ने एनसीसीको उद्देश्यलाई सफल पार्न तालिम उपयोगी रहेको तारादल गणले जनाएको छ । विद्यार्थीहरूको उत्साह र जिज्ञासु स्वभावले तालिम प्रभावकारी बनिरहेको पाइएको छ ।  

Shares

Be the first to comment on "दोलखाका तीन विद्यालयमा सैन्य तालिम"

Leave a comment

Your email address will not be published.


*