ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ५
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा दोलखाको ग्रामीण क्षेत्र राजनीतिक दलको चुनावी गतिविधिले माहोल तातेको छ । आफू र आफ्नो पार्टीको उम्मेद्वारलाई मत दिएर जिताएमा विकास गरिदिने आश्वासन बाँढ्दै नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा दैनिकजसो धाउन थालेका छन् । यसरी नेताहरु आफ्नो टोल र घरदैलोमै आएर मत माग्न थालेपछि चोक तथा चियापसलमा नागरिकले पहिलो निर्वाचनमा विजय भएका जनप्रतिनिधिको कामको समीक्षा गर्नुका साथै अब कस्ता नेता चुन्ने भन्ने विषयमा छलफल र बहस गर्न थालेका छन् । यो पटक आफ्नो मताधिकारको विवेक पूर्वक उपयोग गर्ने सोच बनाएका छन् । चिल्ला र मिठा कुरा गर्नेलाई भोट नदिने तर विकासप्रेमी, असल, इमान्दार छवीका र निर्वाचनमा बाँढेका आशाहरु पूरा गरिदिने नेतालाई अत्यधिक मतदान गरेर आफ्नो जनप्रतिनिधि बनाउने नागरिकहरुको अडान छ । जिल्लाका किसानहरुले भने आफ्ना समस्याहरु सुनुवाइ गर्ने दल र नेतालाई भोट दिएर जिताउने बताएका छन् । उनीहरुले मत माग्न आउने नेता सम्मुख राख्ने मागहरुमध्ये कृषिको समस्या हटाउने प्रमुख माग भएको बताउँछन्् । नेताहरुले आफ्नो घोषणापत्रमा कृषि प्रमुख एजेन्डा बनाउनुपर्ने किसानहरुको माग रहेको छ । किसानहरु वन्यजन्तुको निरन्तर उपद्रोका कारण हैरानी र सास्तीमा छन् । आफ्ना खेतबारीमा लगाएको अन्नबाली बाँदरले क्षति गरेका कारण किसानहरुको समस्या र चुनौतीहरु मध्येमा ठूलो समस्या त्यही नै भएको छ । कृषिमा लगानी, बिमा, उपचार, बिउविजन, मल, कृषि मजदुर, प्रविधि र बजारको अभाव, बिचौलियाको समस्या विद्यमान छ । यी समस्यासँग जुधिरहेका किसानहरुको अहिले ठूलो समस्याको रुपमा वन्यजन्तु बनेको छ । यी सबै समस्या सदाको लागि न्यूनीकरण गर्ने घोषणापत्र लिएर आउने दलका नेतालाई किसानले मतदान गर्ने सोच बनाएका हुन् । भीमेश्वर नगरपालिका वडा नं. ५ धरमघरका कृष्ण कुमारी लामीछानेको थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरको हुल आएर नष्ट पार्ने समस्याले आफूलाई भोको हुनुपर्ने चिन्ता बढेको गुनासो छ । “बारीमा लगाएको अन्नबाली भित्र्याउन पाइदैँन । बाँदरबाट बाली जोगाउन मुस्किल पर्छ । दिनहुँ गोठालो लाग्दा अरु काम गर्न पाइदैँन । निकै समस्या छ तर त्यसको समाधान गर्न कसैले सकेको छैन् ।” उहाँले दुखेसो पोख्नुभयो, “नजिक भनेको सरकार हो । उसले पनि केही गर्न सकेको छैन् ।” बाँदर भाग्ने भन्दै नगरपालिकाले बन्दुक जस्तो मेशिन दिएपनि सधैँको लागि दःुख हटेन । नगरपालिकाले बन्दुक जस्तो मेशिन दिएको त्यसले काम नगरेको उहँाको भनाई रहेको छ । उहाँले भन्नुभयो “बन्दुक जस्तो मेशिन वडाबासी सबैका निम्ति भन्दै नगरपालिकाले दिएको थियो । पहिले पहिले त्यो मेसिन पड्काएको ठूलो आवाज सुनेर बाँदर भाग्थ्यो । तर अहिले त बाँदर चलाख भएको हो कि क्याहो भाग्नै छाड्यो । बन्दुक जस्तो मेशिन दिने मात्र काम भयो । तर बाँदर गाउँबाट टाढा भएन । स्थानीय सरकारले पन्छिने मात्रा काम ग¥यो ।” अब अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको र नयाँ जनप्रतिनिधि चुन्ने बेला आएको छ । कृषिको समस्या हटाइदिने जनप्रतिनिधि चुन्ने हो । “जसले बाँदर भगाउने बाचा गर्छ । उसैलाई भोट दिने हो ।”उहाँले भन्नुभयो ।
किन मानव बस्ती छि¥यो वन्यजन्तु ?
जिल्लामा पाँच वर्षअघि सम्म बाँदरको समस्या थिएन । त्यतिबेला निकै कम संख्यामा बाँदर रहेको थियो । जो जँगलमै रहन्थ्यो । तर अहिले बाँदरको संख्या ह्वातै बढेको र वर्षेनी बढ्दै जाँदा किसानलाई हैरानी पनि बढ्दो छ । अन्यत्र जिल्लाबाट बाँदर ल्याएर छाडिदिएको भन्ने किसानहरुको अाराेप छ । तर डिभिजन वन कार्यालय दोलखाले भने त्यस्तो नभएको जनाएको छ । जँगली जनावर जँगलमै आश्रय हुनुपर्ने हो । तर मानव बस्तीमा छिरेर हानी गर्ने समस्या विकराल बनेको छ । जँगली जनावरको बासस्थान वन हो, मानवले बासस्थानमा क्षति गरिदिँदा मानव र वन्यजन्तुको बीच द्धन्द्ध बढेको कार्यालयका सूचना अधिकारी, सहायक वन अधिकृत गणेश थापाले बताउनभुयो । “अन्यत्र जिल्लाबाट बाँदर ल्याएर छाडिएको भन्ने अाराेप गलत हो । किनकी वन कार्यालयसँग समन्वय बिना वन्यजन्तु एक जँगलबाट अर्को जँगलमा ओसारपसार गर्न मिल्दैन ।” उहाँले वनजँगलमा मानवीय क्रियाकलाप तीव्र रुपमा बढ्दा वन्यजन्तुको बासस्थान गुमेको र आहारा पाउन छाडेपछि वन खोज्दै अन्यत्र गएको, केही भने मानव बस्तीमा छिरेको उहाँले सुनाउनुभयो । विभिन्न बाहनामा वनजँगलको विनाश बढ्दै गएको छ । डिभिजन वन कार्यालयलाई जानकारी नदिई वनजँगलमा डोजर थाल्न थालेको छ, जसको परिणाम वन्यजन्तु र मानव स्वयंले पनि भोग्नुपरेको उहाँले सुनाउनुभयो ।
तीन तहकै सरकारले चाहेमा समाधान
स्थानीय तहको पहिलो निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिले जिल्लामा जँगली जनावरको व्यवस्थापन र किसानको समस्या समाधनको प्रयत्न नगरेका भने होइन । ती प्रयासले केही समयका लागि किसानको दुख हट्दा राहत मिल्यो । तर दीर्घकाल योजना नबाई गरिएका ती प्रयासहरु असफल भईदिए । समस्या पटकपटक दोहोरिदिन्छन् । जसको मारमा सबैभन्दा बढी किसानहरु नै परेका छन् । किसानको समस्या सम्बोधनको लागि सरकारले गतिलो काम गर्न नसकेको किसानहरुको आरोप छ । यदि सरकारले चाहेमा किसानका पीडामा मल्हम लगाउन सक्छ । तर त्यसो हुन सकेको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले किसानहरुले भोग्दै आएको वन्यजन्तु समस्याका साथै अन्य समस्या पनि घटाउन मात्र होइन हटाउन पनि सक्ने किसानहरुको छ । भीमेश्वर नगरपालिका वडा नं. ४ का रुपेश बिश्वकर्माले भन्नुभयो “ हाम्रो नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । उसले मात्र मानव र वन्यजन्तु बीचको द्धन्द्ध घटाउन नसक्ने भए, प्रदेश र संघीय सरकारसँग पहल र समन्वय गरिदिन सक्छ । त्यसैले स्थानीय तहमा सक्षम र गुनासा सुनुवाई गर्ने जनप्रतिनिधि आउनुपर्छ । निर्वाचन हुन लागेकोले अब किसानको समस्या बुझ्ने, सुन्ने र समाधान गरिदिने नेतालाई जनप्रतिनिधि बनाउनुपर्छ । उहाँले भन्नुभयो “कृषि बिना मानिसको पेट भोको रहन्छ । तर भोक मेटाउनको लागि कृषिको विकल्प छैन । त्यसैले कृषि उत्पादन बढाउनचुनौती र समस्यालाई हल नगरिएमा सम्भव हुँदैन ।” सहायक वन अधिकृत थापाले वन्यजन्तु र मानवबीचको द्धन्द्ध के कारणले बढेको र त्यसको समाधान कसरी हुन सक्छ भन्ने विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो“ डिभिजन वन कार्यालयले गत वर्षे बाँदरलाई जँगलमै रहनका लागि फलफूल खेती कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भएपनि सम्भव भएन । १ सय रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने प्रावधान अनुसार प्रस्ताव नपरेकाले सो कार्यक्रम गर्न सकिएन । यो वर्ष त कार्यक्रम पनि छैन, बजेट पनि छैन् ।” वन्यजन्तु र मानवबीचको द्धन्द्ध न्यूनीकरणको लागि जिल्ला स्थित डिभिजन वन कार्यालय, स्थानीय सरकारको मात्र एकल प्रयासले सम्भव हुँदैन । यसमा प्रदेश सरकार र संघीय सरकारको साझा प्रयास र पहल आवश्यक रहेको छ । “मेरो व्यक्तिगत विचारमा बाँदर नियन्त्रण गर्न यसको स्थानान्तरण, बन्ध्याकरण गरिनुपर्छ, जँगलमै खानेकुरा व्यवस्थापन गरिनुपर्ने तथा बासस्थानको प्रबन्ध हुनुपर्छ । यसबाहेकको विकल्प खोज्न सरकारले नीति बनाएरै अध्ययन अनुसन्धान गर्नुपर्छ ।”
Be the first to comment on "दोलखाका किसान भन्छन् ः बाँदर भगाइदिने दललाई मतदान"