दोलखामा दुई पालिकाका किशोरीलाई आइरन चक्की

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन २
दोलखाको दुई पालिकाका विद्यालय जाने किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउने अभियान पुनः सुचारु भएको छ । तामाकोशी र शैलुङ गाउँपालिकामा विद्यालय जाने १० वर्ष देखि १९ बर्ष समुहका किशोरीहरुलाई आईरन र फोलिक एसिड खुवाउने अभियान सुचारु भएको हो ।
नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रम अनुसार किशोरीहरुलाई रक्तअल्पता र कुपोषणको जोखिमबाट बचाउन आइरन र फोलिक एसिड खुवाउने अभियान सञ्चालनमा थियो । तर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण विद्यालय बन्द भएको पछि अभियान स्थगित भएको थियो । विद्यालय सञ्चालन भएपछि आइरन चक्की र फोलिक एसिड खुवाउने अभियानलाई निरन्तरता दिइएको हो । पालिकामा रहेका विद्यालयमा स्वास्थ्य विषय अध्यापन गराउने शिक्षकहरुलाई प्रशिक्षण दिएको र उनिहरु मार्फत् किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको पालिकाहरुले जनाएका छन् । दुबै पालिकामा प्रत्येक साताको आइतबार किशोरीलाई विद्यालयबाटै आइरन चक्की र फोलिक एसिड वितरण गरिने गरिएको छ । तामाकोशी गाउँपालिकामा मावि १२ वटा र आवि ११ वटा गरी २३ वटा सामुदायिक विद्यालय रहेका छन् । यस्तै शैलुङ गाउँपालिकामा मावि ९ वटा र प्रावि ७ वटा गरी १६ विद्यालय सञ्चालनमा रहेका छन् । पोषणयुक्त खानाको कमी, जुकाको संक्रमण र किशोरीमा रजस्वला चक्र शुरु हुने कारणले गर्दा यो उमेर समूहमा आइरनको आवश्यकता बढी रहेको हुन्छ । यहि कुरालाई मध्यनजर गरी नेपाल सरकारको कार्यक्रम अनुसार विद्यालय जाने किशोरीलाई आइरन र फोलिक एसिड खुवाउने अभियान सञ्चालन गरिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुण मिश्रले बताए । विद्यालय बाहिर किशोरी रहेको खण्डमा नजिकको स्वास्थ्य संस्थाबाट खुवाइने पालिकाहरुले जनाएका छन् ।

Shares

Be the first to comment on "दोलखामा दुई पालिकाका किशोरीलाई आइरन चक्की"

Leave a comment

Your email address will not be published.


*