दीक्षण समाचार
चरिकोट, बैशाख २६
दोलखा प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा जाँचलाई कडाई गर्न थालिएको छ। शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउने उद्धेश्यले अन्य ठाउँबाट दोलखा भित्रने यात्रु माथी नाकामै निगरानी बढाउन थालिएको हो ।
निर्वाचनको बेला अवाञ्छित गतिविधिका शंकास्पद व्यक्तिहरु भित्रिन थालेपछि नाकाहरुमा सुरक्षाकर्मीले कडाइका साथ निगरानी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन विषेश सुरक्षा योजना लागू गरिएको र सो योजनाअनुरुप सिन्धुपाल्चोक–दोलखाको सीमा खरीढुँगा र रामेछाप–दोलखाको सीमा क्षेत्र स्थित किर्ने नाकामा खटिएका सुरक्षाकर्मीले थप सर्तकतासहित यात्रु तथा सवारी साधनको चेकजाँचलाई बढाउन थालेको हो । सम्भावित जोखिम रोकथामका लागि नाकाहरुमा सुरक्षाकर्मीले कडाई गर्न थालेको दोलखाका प्रहरी प्रवक्ता सुशील केसीले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन आउन चार दिन मात्र बाँकी रहँदा अध्ययन तथा रोजगारीको शिलशिलामा बाहिरी जिल्लामा रहेका मानिसहरु मतदानका लागि सवारीसाधनमार्फत गाउँ फर्किने क्रम बड्दो छ । दिनमा सयौँ संख्यामा सवारी साधन तथा यात्रु भित्रिरहेका छन् । सोही क्रममा निर्वाचन बिथोल्ने गरी बाहिरी जिल्लाका गैरमतदाता व्यक्तिहरुसमेत आउन सक्छन् । जसले जिल्लामा निर्वाचनलाई प्रभावित पार्न अवाञ्छित र हिंसात्मक क्रियाकलाप गरी दुर्घटना निम्त्याउने जोखिम छ । उक्त जोखिमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता केसीले बताउनुभयो ।
“जिल्ला भित्रिनका लागि मुख्यतायया सवारी मार्गहरु दुई वटा छन् । ती मार्ग हुँदै आउने किर्ने र खरीढुँगा नाकाको प्रहरी चौकीमा खटिएका प्रहरी यात्रु तथा सवारी साधनलाई चेकजाँच गरिन थालिएको हो ।” प्रवक्ता केसीले भन्नुभयो “ यसका साथै दोलखा र चीनको सीमा उत्तरी नाका लामाबगरमा समेत सुरक्षा व्यवस्था मजबुत पारिएको र बैकल्पिक मार्गहरुमा निगरानी कडा बनाइएको छ ।” उहाँले नाका क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुमा सदैव निगरानी हुने गरेकोमा अहिले निर्वाचनको बेला थप सुरक्षा सतर्कता बढाइएको र थप सुरक्षाकर्मी समेत खटाइएको बताउनुभयो । ती सुरक्षाकर्मीहरुले नाकाहरुबाट हातहतियारसहितका व्यक्तिहरु आउन सक्ने भएकोले २४ सैँ घण्टा सवारी साधन तथा यात्रुमाथी चेकजाँचमा कडाई गरेका छन् । “निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले दोलखा आउने व्यक्तिको पहिचान गर्न र जिल्ला भित्रिन नदिन निगरानी गरिएको हो ।” प्रवक्ता विशाल केसीले बताउनुभयो । शंकास्पद व्यक्ति भेटिएमा तत्काल पक्राउ गरिने उहाँको भनाइ रहेको छ ।
Be the first to comment on "दोलखाकाे नाकाहरूमा बढाइयो सुरक्षा सतर्कता"