देशको भविष्य निर्धारणका लागि मतदानमा सहभागी हुन आग्रह

दीक्षण समाचार
चरिकोट, मंसिर ३
भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी दोलखामा पूरा भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनको तयारी सम्पन्न भएको हो ।
निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न विभिन्न चरणमा गरिएको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मतदान पूर्वको अन्तिम तयारी अन्तर्गत दुई अस्थायी सहित सम्पूर्ण मतदान केन्द्र निर्माण र व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेको छ । त्यसैगरी चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पासमा मतगणना स्थल निर्धारण गरी तयारी भएको छ । सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मटपेटिका संकलन गरी सो स्थलमा ल्याएर मतगणना गरिने छ । सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको मतगणना हुने छ । त्यसपछि प्रदेश सभातर्फ प्रत्यक्षको गणना गरी प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक तीन दिन भित्र गरिने उहाँले मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो । मतपेटिका ढुवानीका लागि जिल्ला स्थित सरकारी, सार्वजनिक, निजी गाडी प्रयोग गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनु भयो । उहाँका अनुसार भौगोलिक कठानाई र सडक सञ्जालको पहुँच नरहेको बेदिङ र लुम्नाङबाट भने हेलिकप्टरले मतपेटिका ढुवानी गर्ने तयारी गरिएको छ ।
उहाँले निर्वाचनको तयारी पूरा भएकोले देशको भविष्य निर्धारणका लागि सबै मतदाताहरुलाई मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह गर्नु भयो । आइतबार सही व्यक्तिलाई जिताउन मत दिने महत्वपूर्ण समय भएकोले कोही कसैको दबाब र प्रभावमा नपरी निस्वार्थ पूर्वक मतदान गर्नु पर्ने उहाँको जोड छ । “मतदाताको मताधिकार रक्षाका लागि कर्मचारीसँगै सुरक्षाकर्मी खटिएका छन् । त्यसैले मतदाता परिचय पत्र वा अन्य विवरण खुल्ने परिचयपत्र लिएर ढुक्कसाथ मतदानमा सहभागी हुनुहोस् ।” उहाँले भन्नुभयो ।
उहाँले एक मतदाता, एक मत भनाई व्यवाहारमा लागू गर्न समेत अनुरोध गर्नु भयो । उहाँले भन्नुभयो । “चुनाव जनताको चेतना स्तर नाप्ने ब्यारोमिटर हो । त्यसैले विवेकपूर्वक सभ्य र मर्यादित भएर मतदान प्रक्रियामा सबै मतदाता सहभागी हुनुपर्छ ।” उहाँले देशको भविष्य निर्धारणका लागि मतदानमा सहभागी हुन सबैलाई अनुरोध गर्नु भयो । जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख शकुन्तला राईले पनि मतदानमा सहभागी भएर आफ्नो अधिकारको सही उपयोग गर्न अनुरोध गर्नु भयो । उहाँले जनमतले निर्वाचित हुनेहरुले मुलुकको बागडोर सम्हाल्ने मौका पाउने हुँदा अहित्यै सही उम्मेदवारलाई छनौट गरी मतदान गुर्न पर्ने बताउनु भयो । राम्रालाई पुरस्कृत र नराम्रा व्यक्तिलाई दण्डित गर्न सकिने संविधान प्रदत्त अधिकारको रुपमा रहेको मताधिकारलाई पूर्ण उपयोग गर्नु पर्ने उहाँको जोड थियो । समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकोले मतदाताहरु दक्ष र शिक्षित भएको उहाँले सुनाउनु भयो । यसले गर्दा बदर मत घट्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

Shares

Be the first to comment on "देशको भविष्य निर्धारणका लागि मतदानमा सहभागी हुन आग्रह"

Leave a comment

Your email address will not be published.


*