आजबाट आठौं वर्ष पार गरी हामी नवौं वर्षमा प्रवेश गरेका छौं । हामीले २०७३ साल मंसिर ५ गते दोलखाबाट दैनिक पत्रिकाको प्रकाशन आरम्भ गरेका थियौं । दोलखा जिल्लाबाट पत्रिका प्रकाशनमा आउँदा “के यो दैनिकले कति दिनसम्म निरन्तरता दिन्छ?” भन्ने प्रश्न उठेको थियो ।ती प्रश्नहरूसँगै रहेका धेरै जटिल चुनौतीहरूको बाबजुद, हामीले दैनिकलाई आठ वर्षसम्म निरन्तरता दिंदै नवौं वर्षमा प्रवेश गर्न सफल भएका छौं । यो हाम्रो लागि गर्बको विषय हो ।
दैनिक पत्रिकाको प्रकाशन सुरु गर्दा देश भूकम्पको संकटबाट ग्रस्त थियो । त्यतिबेला हाम्रा सामग्री पुन निर्माणमा केन्द्रित थिए । त्यसपछि विश्वलाई तहसनहस बनाउँने कोभिड महामारी आयो । यस क्रममा धेरै प्रिन्ट संस्करणहरू बन्द भए, तर हामीले प्रिन्ट संस्करणलाई निरन्तरता दियौं । त्यस क्रममा हाम्रा सहकर्मीहरूले महामारीको संक्रमणको सामना समेत गर्नुप¥यो। यद्यपि, संकटको समयमा पत्रकारिताले आफ्ना मूल्य मान्यतालाई भुल्नु हुँदैन भन्ने हेक्का राख्दै, हामीले प्रकाशनलाई निरन्तरता दिन सकेका थियौं । पछिल्लो समय पत्रकारितामाथि प्रश्न उठ्दै गर्दा त्यसलाई सामना गर्दै आफ्नो धर्म र पत्रकारिताको मर्मलाई आत्मसाथ् गर्दै हरेक विषयवस्तु उठाउनु चुनौतीपूर्ण रहेको छ । ती प्रश्नहरूसँग जुध्दै चुनौती पार गर्न हामी प्रतिबद्ध छौं। त्यसले हामीले बाटो बिराएका रहेछौं भने त्यसलाई सही दिशानिर्देश अवश्य नै गर्नेछ । समयअनुसार हामी परिवर्तन हुन सकेनौं भने पत्रकारिता क्षेत्र झन् चुनौतीमा फस्ने हेक्का राखेका छौं ।
अहिले यस दीक्षण दैनिकले प्रविधिको प्रयोग गर्दै इपेपरलाई अनलाइन संस्करणबाट हेर्न मिल्ने बनाएको छ । अन्य सामाजिक सञ्जालमार्फत पनि हामी हाम्रा सामग्रीलाई प्रस्तुत गर्दै आएका छौं । देशमा मिडियातर्फ विशेष गरी प्रिन्ट संस्करण संकटमा रहेको बेला मोफसलमा निष्पक्ष पत्रकारिता गर्न झन् पेचिलो छ । यहाँ मिडियालाई नै टिकाउन मुस्किल रहेको बेला राम्रा सामग्री उत्पादन गर्न अझ चुनौतीपूर्ण छ । पछिल्लो समय पत्रकारिताले गरेका खबरदारीलाई आफू अनुकूल भए इगोको रूपमा लिनेहरूको जमात पनि धेरै छन् ।समयअनुसार पत्रकारितामा चुनौती आउँछ भन्ने मान्यतालाई मनन् गर्दै, हामी आगामी दिनमा अझ हाम्रा सामग्रीहरुलाई परिस्कृत गर्दै जाने प्रतिबद्धता जनाउँछौं । यस अवसरमा सम्पादकीय टिमले पाठक, विज्ञापनदाता, र शुभचिन्तकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र जिम्मेवार पत्रकारिताको प्रतिबद्धता जाहेर गर्दछौं । आठौं बसन्त पार गर्दै जाँदा हामीलाई यहाँसम्म ल्याउन सहयोग गर्नु हुने यस दैनिकका सहकर्मी , पूर्व सहकर्मीहरू, शुभचिन्तक, पाठक विज्ञापनदाता, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्णमा आभार प्रकट गर्दछौं ।
Be the first to comment on "दीक्षण दैनिक नवौं वर्षमा प्रवेश"