इश्वर बिश्वकर्मा चरिकोट, साउन २१
पशु बीमा तर्फ दोलखाका किसानहरुको आकर्षण बढ्दै गएको छ । पशुधन बीमा गरेमा सरकारले कृषकलाई अनुदान दिने हुनाले पशुपालक कृषकहरुको पशु बिमा तर्फ आकर्षण बढेको हो ।
पशुबीमा गर्दा किसानलाई धेरै फाइदा हुने तथा आफ्नो लगानी सुरक्षित हुने भएकाले जिल्लामा पशु बीमा प्रति किसानहरुको आकर्षण बढेको भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र चरिकोटका निमित्त कार्यालय प्रमुख पलट चौधरीले बताए । जिल्लामा २०७१ सालबाट पशु बीमा सेवा सुरु भएको थियो । आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशु मृत्यु भएमा क्षतिपूर्ति बीमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बीमातर्फ किसानको आकर्षण बढेको उनले बताए ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा गाई, भैँसी,बाख्रा,बोका, याक र चौँरी
गरि ५ हजार ५ सय ७६ वटा घरपालुवा पशुहरुको बीमा गरिएको छ ।
जिल्लामा मुख्य तिन बीमा कम्पनी प्रिमियर इन्स्याेरेन्स कम्पनी नेपाल लिमिटेड, लुम्बीनी लाइफ जनरल इन्स्याेरेन्स र आइएमई जनरल इन्स्याेरेन्स लिमिटेडले पशु तथा बालीको बीमा गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा गाई, भैँसी, बोका, याक र चौँरी गरि ५ हजार ५ सय ७६ वटा घरपालुवा पशुहरुको बीमा गरिएको छ । प्रिमियर इन्स्याेरेन्स कम्पनी नेपाल लिमिटेड, चरिकोट शाखामा करिब ३ हजार २ सय ३३ वटा पशुको बीमा गरिएको छ ।
शाखाको अनुसार प्रिमियर लाइफ इन्स्याेरेन्समा गाई, भैँसी र बाख्राको बिमा गरिएको छ । सबैभन्दा बढी २ हजार ६ सय ७७ वटा गाईभैँसीको बीमा गरिएको छ । ५ सय ५६ वटा बाख्राको बीमा गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ करिब १४ सय पशुको बिमा गरिएको थियो । सबैभन्दा बढी १४ सय ८७ वटा बाख्राको बिमा गराइएको थियो । त्यसैगरी गाई ७ सय २ वटा, चौरीँ ८ सय ७३ वटा, भैँसी ४ सय ६६ वटा, १०२ वटा बङ्गुर, ७३ वटा भेँडा, ९८ वटा गोरु लगायत गरी ३८ सय ९१ पशुको बिमा गरिएको थियो ।
त्यसैगरी लुम्बीनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड उपशाखा दोलखामा गाई, भैँसी ७७ वटा, याक र चौँरी ३६ गरि १ सय ४३ वटाको पशुको बीमा गरिएको कम्पनीका शाखा प्रमुख रामचन्द्र केसीले बताए । उक्त कम्पनीमा अघिल्लो आव गाई ४६ वटा, बाख्रा २५६ वटा, भैँसी ७२ वटा, चौँरी १ सय ८२ वटा र भेँडा ९३ वटा गरी ६ सय ४९ पशुको बीमा गरिएको थियो । त्यसैगरी आइएमई जनरल इन्स्याेरेन्स लिमिटेडले गाई, भैँसी र गोरु २ सय र बाख्रा र बोका करिब २ हजारको संख्यामा बीमा गराइएको लिमिटेडकी अन्दर राइटिङ सर्मिला भण्डारीले बताइन् । अघिल्लो आवमा करिब ३ सयको संख्यामा पशु बीमा गराइएको थियो ।
पशु बीमा गर्दा ७५ प्रतिशत सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्नु पर्दछ । पशु धनीले बीमा गर्न चाहेको खण्डमा प्राबिधिकहरु पशु जाँचका लागी जाने र बीमा गर्ने पशु स्वस्थ भएमा फाराम भरि पशुलाई चिह्न लगाइन्छ । त्यस पश्चात् बीमाको पक्रिया अगाडी बढाइन्छ । जिल्लामा पशु बीमा गर्ने कृषक केही बढे पनि बाली बीमा गर्नेको कृषकको संख्या भने रहेको छैन ।
Be the first to comment on "दाेलखामा पशु बीमा प्रति किसानहरुको आकर्षण बढ्यो"