दीक्षण समाचार
चरिकोट, माघ ४
दोलखामा मंगलबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाहरुमा एन्टिजेन प्रविधिबाट ३० जनाको नमुना स्वाबको परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा जिरी नगरपालिका २ पुरुष र १ महिला, कालिञ्चोक गाउँपालिकाका तीन पुरुष, शैलुङ गाउँपालिकाका १३ पुरुष, तामाकोशी गाउँपालिकामा १ पुरुष र १ महिला, भीमेश्वर नगरपालिकामा १ पुरुष, मेलुङ गाउँपालिकामा १ पुरुष रहेका छन् । आज थपिएका संक्रमितसंगै जिल्ला सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । अन्य पालिकाको तुलनामा शैलुङ गाउँपालिका र जिरी नगरपालिकामा धेरै १७–१७ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित सबै होम आइसोलेसनमा बसीरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी ६ जना संक्रमण मुक्त भएका छन् । जसमा तामाकोशी गाउँपालिकाका १ महिला, जिरी नगरपालिकाका १ पुरुष र ४ महिला रहेका छन् । जिल्लामा केही दिन यता कोरोना संक्रमण बढ्न थालेको भएपनि एन्टिजेन विधिबाट मात्र कोरोना परीक्षण भईरहेको छ । चरिकोट अस्पतालमा पीसिआर परीक्षणको लागि प्रयोगशाला स्थापना भएपनि कोरोना परीक्षणमा त्यसको प्रयोग हुन सकेको छैन । ओमिक्रोनको खतरा बढिरहेको बेला त्यसको परीक्षण तथा पहिचान हुन नसक्दा अहिले संक्रमित भएकाहरुलाई कुन भेरियन्टको संक्रमण भएको हो भन्ने थाहा हुन सकेको छैन ।
आदेशको भएन कार्यान्वयन
प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाको आदेश पुस २८ गते जारी भयो । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भनी जारी गरिएको नौ बुँदे आदेश पूर्ण परिपालना तथा कार्यान्वयन हुने हो भने उद्देश्य अनुरूपको परिस्थिति बन्ने थियो । तर जिल्लामा आंशिक आदेश मात्र कार्यान्वयन भएको छ । सम्पूर्ण आदेशको जीवन व्यवहारमा पूर्ण कार्यान्वयन गराउन प्रशासन चुकेको छ । नागरिकहरुले पनि स्वतस्फुर्त रुपमा स्वास्थ्य मापदण्ड पालना नगरी प्रशासनको आदेश लत्याइरहेका छन्। फलतःः दिनहुँ कोरोना संक्रमित फेला पर्न थालेका हुन् । प्रशासनले आफ्नै आदेश कार्यान्वयन नगर्ने र नागरिकले लापरबाही गर्ने हो भने दोलखा कोरोनाको केन्द्र बन्ने निश्चित छ ।
Be the first to comment on "दाेलखामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि"