दशैँमा पिङः ‘पोहोर कोरोनाले छेक्यो, यसपाली त थापियो’

इश्वर बिश्वकर्मा
चरिकोट, असोज २७

हिन्दु धर्मावलम्बीको महान चाड दशैँमा मनोरञ्जन र रमाइलोका लागि गाउँटोलमा युवा सक्रियतामा रकम संकलन गरी आवश्यक सामाग्री जुटाएर पिङ हाल्ने चलन कायमै छ । टिका लगाइसकेपछि एकैछिन भएपनि एक पटक धर्ती छाड्नुपर्ने मान्यताको कारण पिङ संस्कृतिकै रुपमा स्थापित हुँदै गएको बेला सहरीकरण, आधुनिकता र अन्य मनोरञ्जनको साधन व्याप्त भएपछि पिङप्रति पछिल्ला पुस्ताको चासो कम हुदैँ गएको छ ।

साथीभाई मिलेर चंगा उडाउनु, पिङ खेल्नु लगायतबाट मनोरञ्जन लिनु खास गरी बालबालिका तथा युवाहरुको रुची र महत्वको विषय बन्थ्यो । दशैँ लाग्ने बित्तिकै गाउँमा सबैलाई पायक पर्ने स्थानमा रोटेपिङ बनाइन्थ्यो, भने टोलैपिच्छे जस्तो बाबियोको डोरी र बाँसको प्रयोगबाट लिङगे पिङ थापिन्थ्यो । चाचा हुई सरररर भन्दै पिङको मज्जा र स्वाद लिन मानिसहरु झुम्मिन्थे । यसले दशैँको खास महत्व र उत्साहको आभास हुने गरेको पुर्खाहरु बताउँछन् । तर अहिले परिस्थिति त्यस्तो छैन ।
पछिल्ला वर्षहरुको दशैँमा पिङ कमै मात्रामा थापिन्छ । पिङ खोज्न गाउँभरी डुल्दा पनि मुस्किलले भेटाइने अवस्था आएको छ । यो दोलखाको मात्रै नभई सिंगो नेपालको अवस्था हो । यसप्रति संस्कृति विद् तथा पुर्खाहरुद्धारा चिन्ता व्यक्त हुन थालेको छ । अबका केही वर्षमा पिङ संस्कृति लोप हुने र एकादेशको कथा बन्न सक्ने आंकलन गर्न थालिएको छ ।
केही स्थानमा भने अझै पनि पिङ संस्कृतिलाई संरक्षण र प्रवद्र्धनमा युवा सक्रियता देखिन थालेको छ । दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामा स्थित टिमुरेको चौरमा बाबुबाजेको प्रोत्साहन र युवा सक्रियतामा लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ र लिङ्गे पिङ एकै स्थानमा स्थापना गरिएको छ ।

१२ जना बसेर खेल्न मिल्ने रोटेपिङ र लिङ्गे पिङ निर्माणमा स्थानीयले चासो र सहयोग गरेका यहाँका विष्णु पोखरेलले बताउनुभयो । गत वर्ष कोरोनाको कारण पिङ हाल्न सकिएन तर यो वर्ष भने कोरोना न्यूनीकरण भएपछि प्राचिन परम्परालाई निरन्तरता दिदैँ चाडपर्व रोमाञ्चक बनाउन एकै स्थानमा दुबै प्रकारको पिङ थापिएको उहाँले बताउनुभयो । पिङ खेल्ने चलन हराउदैँ गएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो “ मेरो बाल्यकालमा दशैँको बेला आफ्नो गाउँमा होस् या त मामाघर जाँदा होस्, टोलपिच्छे रोटेपिङ सहित अन्य प्रकारका पिङ देखिन्थ्यो । तर अहिले १० वर्ष जति भयो न त पिङ कमै मात्रामा देखिन्छ ।” उहाँले दशैँमा जुवातास खेलेर व्यर्थमा समय फाल्नु भन्दा पिङ खेलेर मनोरञ्जन लिनु उपयुक्त हुने बताउनुभयो ।

Shares

Be the first to comment on "दशैँमा पिङः ‘पोहोर कोरोनाले छेक्यो, यसपाली त थापियो’"

Leave a comment

Your email address will not be published.


*