दलित समुदायको उत्थानमा प्रतिबद्ध दोलखाको गौरीशंकर गाउंपालिका

इश्वर बिश्वकर्मा

चरिकाेट

दोलखाको गौरीशंकर गाउंपालिकाका अध्यक्ष स्वयम् बहादुर खड्काले दलित समुदायको उत्थानका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार सिँगटी बजारमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले दलित समुदायको आर्थिक, शैक्षिक र सामाजिक विकासका लागि गाउँपालिका प्रतिबद्ध भई सोही अनुसार लागि परेको बताएका हुन्।

दिगो बिकासका लागि गाउँपालिकाले बिभिन्न रणनीति बनाएकोले पिछडिएका वर्ग, लिङ्ग, जातीको जीवनस्तर उकास्ने योजना सहित बजेट विनियोजन गरिएको बताए । उनले दलित समुदाय शिक्षित र आर्थिक रुपले सम्पन्न भएको खण्डमा सदियौं देखि जरो गाडेर बसेको छुवाछुत जस्ता कुरुतिको अन्त्य हुने भएकोले गाउँपालिकाले आउंदो बर्ष नीति तथा योजना बनाउने बताए । उनले गाउँपालिका भित्रका दलित समुदायको उत्थानार्थ सिपमूलक कार्यक्रम विगतका बर्षहरुमा पनि गरिएकाे र चालु आर्थिक वर्षमा पनि गरिने बताए।

विभेद सहेर बस्नु हुदैन : उपप्रमुख जिरेल

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेलले दलित समुदायको पत्रकार र दलित जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि समन्वय गरिने बताईन् । समाजमा लिप्त विभेदको विरुद्धमा आवाज उठाउन समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाईन् । उनले छुवाछुत गरेमा दण्ड सजायको व्यवस्था रहेकाले कसै विभेद वा छुवाछुत सहेर नबस्न आग्रह गरिन् । उनले दलितले आयोजना गरेको कार्यक्रममा निमन्त्रणा गरिएको व्यक्तित्वहरुको उपस्थिति नरहनु समाजमा विद्यमान छुवाछुतको पराकाष्ठा रहेको समेत जिसस उपप्रमुख जिरेलले बताईन् ।

साथै आफ्नो अधिकारका लागि सधैं लडिरहे अबश्य पनि व्यवहारमै छुवाछुत मुक्त राष्ट्र निर्माण गर्न सकिने बताईन् । त्यसैगरी दलित संघ दोलखाका अध्यक्ष चेतबहादुर बिश्वकर्मा, भीनपा कार्यपालिका सदस्य दिपक धनुके, शैलुङ गापा कार्यपालिका सदस्य कुल बहादुर बिश्वकर्मा लगायतले दलित समुदाय एकत्रित भई आफ्नो अधिकारका निम्ति लड्नुपर्ने बताए। कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघ बागमती प्रदेशका सदस्य गम्भीर बिश्वकर्माले स्थानीय तहको काम, कर्तव्य र अधिकार, दलित समुदायको उत्थानका लागि स्थानीय तहको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरे । गौरिशंकर गापा वडा नं ३ कि दलित महिला सदस्य निर्मला नेपालीले लक्षित बर्गको लागि आएको बजेट सडक लगायतको अन्य पुर्वाधारमा खर्च गर्ने गरिएको बताएकि छिन्।

उनले बजेट विनियोजन गर्ने समयमा बोलाउने तर बजेट अन्यत्रै खर्च गरि उल्टै बजेट कता लग्यौ भनि आरोप लगाउने गरेको उनले दाबी गरिन्। त्यसैगरी गौरिशंकर गापा वडा नं ५ कि दलित महिला सदस्यले अप्सरा बिश्वकर्माले दलितका निम्ति वडाले बिषेश महत्वका साथ बजेट विनियोजन नगरेको बताईन् ।

त्यसैगरी दलित अधिकारकर्मी नन्दराज घतानीले नेपालमा जातीय वर्गीकरण, दलित समुदायको अबस्था, आरक्षणको व्यवस्था, छुवाछुत कसुर, स्थानीय तहको दृष्टिकोण लगायतको बिषयमा कार्यपत्र प्रस्तुत गरे। लक्षित समुदायको लागि विनियोजित बजेट अन्यत्रै राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका अध्यक्ष सुदिप रसाईलीको सभापतित्वमा सम्पन्न भएको दलित सवालका निम्ति स्थानीय तहको भुमिका बिषयक अन्तरक्रियाकार्यक्रममा दलित महिला प्रतिनिधिले आफुहरुलाई कार्यविहिन बनाएको बताएका छन्।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका सदस्यहरुले दलित अधिकार त छुवाछुत न्युनिकरणका लागि बिभिन्न सचेतनामुलक कार्यक्रमका साथ कलम चलाउने बताए । अन्य गाउँपालिकामा पनि छुवाछुत न्युनिकरण अभियान सञ्चालन गरिने संघले जनाएको छ। अन्तर क्रियामा दलित अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रम गौरिशंकर र विगु गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "दलित समुदायको उत्थानमा प्रतिबद्ध दोलखाको गौरीशंकर गाउंपालिका"

Leave a comment

Your email address will not be published.


*