दण्ड जरिवाना असुल्न अपराधीको सूची दोलखाको विभिन्न कार्यालयमा

रवीन्द्र गौतम । दोलखा

फागुन १, चरिकोट । दोलखा जिल्ला अदालत तथा अन्य अदालतले फैसला गरी तोकिदिएको दण्ड जरिवानामा परेकाहरुको सूची जिल्लाको विभिन्न कार्यालयहरुमा पठाई असुल सुरु गरिएको छ ।

दोलखा स्थायी घर भएका विभिन्न ब्यक्तिहरुलाई तोकिएको दण्ड जरिवाना लामो समयदेखि असुल हुन नसके पछि दोलखा जिल्ला अदालतले जिल्लाका ५ सरकारी कार्यालयहरुमा सूची पठाई असुल गर्न सुरु गरेको हो । अदालतले दण्ड जरिवाना तोकेर फछ्र्यौट नगरेकाहरुलाई सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवा स्थगित गर्न पत्राचार गरेसँगै असुल समेत हुन थालेको दोलखा जिल्ला अदालतले जनाएको छ ।

दोलखा जिल्ला अदालतले पुस २० गते ९३१ को चलानीमार्फत प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, नापी र प्रहरीलाई पत्र पठाई दण्ड जरिवाना नतिरेका ब्यक्तिहरुलाई कार्यालयबाट दिईने सेवा स्थगित गर्न पत्राचार गरेको थियो । दोलखा जिल्ला अदालत र अन्य अदालतबाट दण्ड जरिवाना तोकिएका ३९५ ओटा लगतको ६०१ जना व्यक्तिको सूची तथा असुल उपर हुन बाँकी रहेको रकम सहितको विवरण जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम लगत असुलीका लागि जिल्लास्थित ति कार्यालयहरुलाई पत्राचार गरेको थियो । पठाएको पत्रमध्ये मालपोत कार्यालयले जग्गासम्वन्धि सबै कारोबार स्थगित गरी फैसला कार्यान्वयनमा सहयोग गरेको अदालतले जनाएको छ ।

पत्र प्राप्त भएको एकमहिनाभन्दा बढिको अवधिमा जग्गासम्बन्धि कारोबार गर्न आएका १० जनाबाट एकलाख ४० हजार २०६ रुपैयाँ छब्बिस पैसा दण्ड जरिवाना बुझाउन अदालत पठाइएको मालपोत कार्यालय दोलखाका निमित्त कार्यालय प्रमुख रोशनकुमार लुईंटेलले जानकारी दिए । अन्य ४ ओटा कार्यालयहरुबाट भने मंगलबारसम्म दण्ड जरिवाना फछ्र्यौट गर्न सहयोग नभएको अदालतले जनाएको छ ।

अदालतले दण्ड जरिवाना वापत रु. ४ करोड ४७ लाख ९६ हजार एकसय ५७ रुपैयाँ २३ पैसा फछ्र्यौंट गर्न बाँकी रहेको दोलखा जिल्ला अदालतका स्रेस्तेदार सुमनकुमार कुशवाहले जानकारी दिए । चालु आर्थिक बर्षको पुसमशान्तसम्म ७ लाख ४४ हजार ५७ रुपैयाँ २३ पैसा दण्ड जरिवाना असुल भएको स्रेस्तेदार कुशवाहले बताए ।

अदालतले शैलुङका ५५, मेलुङका १०१, तामाकोशीका ४१, बैत्यश्वरका ७३, गौरीशंकरका ३७, विगुका २०, कालिञ्चोक गाउँपालिकाका ४८ तथा जिरी नगरपालिकाका ३४ र भीमेश्वर नगरपालिकाका १९२ जनाको सूची ति सरकारी कार्यालयमा पठाएको स्रेस्तेदार कुशवाहले जानकारी दिए ।

 

Shares

Be the first to comment on "दण्ड जरिवाना असुल्न अपराधीको सूची दोलखाको विभिन्न कार्यालयमा"

Leave a comment

Your email address will not be published.


*