सोमबार बिहान तीन बजे नै सबै मतपेटिका गणनास्थलमा ल्याइए, उजुरी परेकोले गणना हुन सकेन

दीक्षण समाचार
चरिकोट, मंसिर ५
दोलखामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सबै मतपेटिका संकलन गरी गणना स्थल चरिकोट ल्याइएको छ । आइतबार अस्थायीसहित एक सय ९७ वटै मतदान केन्द्रमा मतदान सकिएपछि कर्मचारी र सुरक्षाकर्मीसहितको टोलीले मतपेटिका संकलन गरी गणना स्थलमा ल्याएको हो ।
जिल्लाभर मतदान सकिए लगत्तै प्रक्रिया अनुसार मतपेटिका संकलन गरी सवारी साधनमा ढुवानी गरिएको र सडक पहुँचबाट टाढा रहेका मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले नै बोकेरै गणनास्थलमा ल्याएका हुन् । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठअनुसार बिहान तीन बजे मतपेटिका संकलन कार्य सकिएको हो ।
सबै मतपेटिका गणना स्थलमा आइपुगेपनि गणनाको कार्य भने आठ घण्टा बित्दा पनि अघि बढ्न सकेको छैन । अन्य जिल्लामा मत गणना भई प्रारम्भिक परिणाम सार्वजनिक भईरहेको बेला दोलखामा भने संकलित मतपेटिका घण्टैँसम्म थन्क्याएर राख्दा परिणामको पर्खाइमा रहेका नागरिक निराश हुन परेको छ ।
सहायाक निर्वाचन अधिकृत शिवकुमार पोखरेलले निर्वाचनको क्रममा पाँच मतदान केन्द्र कब्जा भएको र सो केन्द्रमा पुनः निर्वाचन हुनुपर्ने माग सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका कारण मतगणना हुन नसकेको बताउनु भयो । उहाँले उजुरीका विषयमा निर्वाचन आयोगलाई आइतबारै जानकारी गराइएको र आयोगले गरेको निर्णय अनुरुप हुने जानकारी दिनु भयो । “ मतपेटिका सबै संकलन भइसकेको छ । तर उजुरी परेका कारण गणना हुन सकेको छैन ।” सहायक निर्वाचन अधिकृत पोखरेलले भन्नु भयो “उजुरीका सम्बन्धमा निर्वाचन आयोगलाई जानकारी गराइएको छ । आयोगको निर्णय र निर्देशनको पर्खाइमा बसेका छौँ । तत्काल मतगणना हुने त कुरै भएन ।”
एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले पाँच मतदान केन्द्र कब्जा भएको र त्यसमा गठबन्धन संलग्न रहेको आरोप सहित निर्वाचन पुनः हुनुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतलाई उजुरी पेश गर्नु भएको थियो ।

Shares

Be the first to comment on "सोमबार बिहान तीन बजे नै सबै मतपेटिका गणनास्थलमा ल्याइए, उजुरी परेकोले गणना हुन सकेन"

Leave a comment

Your email address will not be published.


*