इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा यस वर्षको तिहारको बेला ट्राफिक नियम उल्लंघन गर्ने ८१ वटा सवारी साधन कारबाहीमा परेका छन् । काग तिहारदेखि भाई टिकाको दिनसम्म लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेबापत कारबाही गरिएको हो । तिहारमा अत्याधिक सवारी चापका कारण दुर्घटना हुन सक्ने भएकोले दुर्घटना हुन नदिन, ट्राफिक नियम परिपालना गराउन तथा यात्रु ठगिनबाट बचाउन सचेत भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीले विषेश अनुगमन तथा चेकजाँचलाई तीब्रता दिएको थियो । सो क्रममा चालक अनुमति पत्र बिना चलेको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, मादक पदार्थ सेवन गरी लगायतका नियम उल्लंघन गरी चलाइएको भेटेपछि त्यस्ता सवारीलाई कारबाही गरिएको हो । ८१ वटा सवारी कारबाही गर्दा ६९ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताउनुभयो । कारबाहीका परेका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको छ ।
२८ वटा मोटसाइकल कारबाहीमा परेको छ । त्यसबाट २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । २६ वटा ट्रकलाई कारबाही गर्दा २२ हजार, आठ बस कारबाही गर्दा आठ हजार, १९ जीपकारलाई कारबाही गर्दा १६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायब निरीक्षक नेपालले बताउनुभयो ।
दशैँमा सवारी साधनको अत्याधिक चाप हुन्छ । तर तिहारमा दशैँको तुलनामा अलि कम चाप हुन्छ ।
यद्यपी ट्राफिक नियम विपरित गतिविधि हुने भएकोले तिहारमा पनि प्रहरीले सक्रियता बढाएको थियो । दुर्घटना न्यूनीकरणको लागि प्रहरीद्धारा विभिन्न सचेतनामुलक कार्यक्रमका साथै ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्ने गरिएको छ ।
Be the first to comment on "तिहारमा ८१ वटा सवारी साधनले तिरे जरिवाना"