तामाकोसी-५ जलविद्युत निर्माणको लागि दुई चिनियाँ कम्पनी सर्टलिस्टमा

काठमाडौं। तामाकोसी-५ जलविद्युत आयोजना निर्माणका लागि निकालेको ठेक्कामा दुई चिनियाँ कम्पनी सर्टलिस्टमा परेका छन्। प्राविधिक प्रस्तावमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिस्टमा परेका हुन्।तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले साउन ९ गते आयोजनाको सिभिल र हाइड्रो मेकानिलतर्फको ठेक्का निकालेको थियो। उक्त ठेक्कामा आवेदन दिएकामध्ये दुई चिनियाँ कम्पनी मात्रै छनोट भएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीका अनुसार अब उक्त दुई कम्पनीको वित्तीय प्रस्तावको मूल्यांकन गरिनेछ।उक्त प्रस्तावमा खरिद ऐन र नियमावली अनुसार उत्कृष्ट ठहरिने कम्पनीले ठेक्का पाउनेछ। माघ २० गते आर्थिक प्रस्ताव खोलिनेछ। चालु वर्ष मूल्यांकन सकेर आगामी वर्षबाट निर्माण सुरु गर्ने योजना बनाइएको छ। निर्माणको जिम्मा पाएको कम्पनीले ४ वर्षमा आयोजना पूरा गर्नुपर्नेछ।सर्टलिस्टमा परेको सिनो हाइड्रो त्यही कम्पनी हो। जसले माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को सिभिल संरचनाको काम पूरा गरेको थियो। इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले छाडेपछि मेलम्चीको खानेपानी आयोजनाको बाँकी काम सक्ने ठेक्का पाएको थियो।यो कम्पनीले १४० मेगावाटको तनँहु जलविद्युत आयोजनाको पावर हाउस (विद्युत गृह) निर्माण जिम्मा पाएको छ। अन्य विभिन्न जलविद्युत आयोजनामा समेत काम गरिसकेको छ।गेजुवाले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना विकासको जिम्मा पाएको थियो। तर अहिले सरकारले आफैं निर्माण गर्ने भन्दै उक्त आयोजना खोसेको छ। आयोजना विकासका लागि कम्पनी समेत दर्ता गरिसकेको छ। ६० मेगावाटको त्रिशुली-थ्री ‘ए’ जलविद्युत आयोजनाको सिभिल संरचना निर्माणको काम गरेको थियो।

साइट कार्यालय निर्माण भइरहेको क्षेत्र

तामाकोसी जलविद्युत आयोजना दुईवटा प्याकेजमा आयोजना निर्माण गर्न लागिएको छ। पहिलो प्याकेजको ठेक्का आह्‍वान भएर मूल्यांकनको चरणमा छ। दोस्रो प्याकेजको ठेक्का निकाल्ने तयारी हुँदैछ। दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल अर्थात् उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न प्रसारणलाइन निर्माणको ठेक्का निकालिने बताइएको छ।इन्जिनियर प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्नेगरि कम्पनीले ठेक्का निकालेको हो। यस्तो मोडलमा निर्माण गर्दा कम्पनी बढी जिम्मेवार हुनुपर्छ। विस्तृत डिजाइन, खरिद, निर्माणदेखि केही समय संचालनसम्मको काम गर्नुपर्ने सर्त हुन्छ।करिब १०० मेगावाटको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत को क्यासकेड हो। माथिल्लो तामाकोसीको टेलरेसको पानी प्रयोग गर्ने हुदा हेडवर्क्स निर्माण गर्नुपर्दैन। डिसेन्डर पोखरी पनि बनाउनु पर्दैन। सिधैं डाइभर्सन बनाएर टेलरेसमा तामाकोसी-५ को सुरुङमार्ग जोडिनेछ। माथिल्लो तामाकोसी जलविद्युत आयोजना अर्धजलाशय हो। त्यसैको क्यासकेड आयोजना भएका कारण यो पनि समान प्रकृति अर्थात अर्धजलाशय हुनेछ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय

आयोजनाको पावर हाउस (विद्युत गृह) माथिल्लो तामाकोसीकै जस्तो भूमिगत हुनेछ। सोही कारण वातावरणीय क्षति समेत कम हुने दाबी गरिएको छ। माथिल्लो तामाकोसीकै संरचना प्रयोग गरिने हुदा लागत समेत कम पर्नेछ। सो हिसाबले आकर्षक आयोजनाको रुपमा हेरिएको छ।आयोजना निर्माणका लागि करिब २० अर्ब रुपैयाँ (ब्याजसहित) लाग्ने अनुमान छ। ब्याजबाहेक १८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। आयोजनामा ३० प्रतिशत इक्‍विटी र ७० प्रतिशत ऋणबाट लगानी जुटाइनेछ। कर्मचारी सञ्चय कोषले १३ अर्ब रुपैयाँ ऋण दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। अन्तिम सम्झौता भने हुन बाँकी छ।अहिले आयोजनाको क्याम्प साइट निर्माण लगायतका पूर्वतयारीको काम धमाधम चलिरहेको छ। आयोजनाका लागि करिब ८ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। सुरीदोभान भन्ने ठाउँमा आयोजनाको पावर हाउस रहनेछ। विद्युत उत्पादनपछि माथिल्लो तामाकोसीका लागि बनाइएको गोंगर-खिम्ती २२० केभी प्रसारणलाइनमा समाहित गरिनेछ।

Shares

Be the first to comment on "तामाकोसी-५ जलविद्युत निर्माणको लागि दुई चिनियाँ कम्पनी सर्टलिस्टमा"

Leave a comment

Your email address will not be published.


*