तामाकोसी सेयर फेरि पछि धकेलिदै ,सोमबार चरिकोटमा १ घण्टा चक्का जाम

चरिकोट–माथिल्लो तामाकोशी आयोजनाले जारी गर्ने स्थानीय सेयर बितरणको बिभिन्न माग राख्दै अप्पर तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समितिले सोमबार चरिकोटमा १ घण्टा चक्का जाम गरेको छ । भोलि ६ गते जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना दिने र चैत १० गते आयोजनासँग सम्बन्धित सवारी साधान रोक लगाउने लगायतका कार्यक्रम घोषणा गरेको छ । यसले गर्दा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर निष्काशन नहुँदै आन्दोलनका कार्यक्रमले स्थानीयका लागि सेयर निष्काशन केही समेत धकेलिने भएको छ । धितोपत्र बोर्डले नै सबै प्रक्रिया पूरा भएपछि मात्र सेयर निष्काशनको अनुमति दिने भएकाले पुर्न आन्दोलनको विषयमा टुङ्गो लगाएर मात्र सेयर जारी गर्नु पर्ने भएको हो ।
माथिल्लो तामाकोसीको आयोजना प्रभावितका लागि दोस्रो पटक सेयर आव्हान नहुँदै आन्दोलन भएको छ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सेयर नै जारी नभई आन्दोलन गर्नु पर्ने कारणै नभएको बताए । ‘स्थानीयको नाममा वितरण हुने सेयरका लागि वर्ग छुट्याउने काम पनि जिल्लास्तरीय समन्वय समितिले गरेको हो’ उनले भने ‘अहिले स्थानीय निर्वाचित सरकार छ, पुनः सबैसँग समन्वय गरेर एउटा निश्कर्षमा पुगेर मात्र सेयर जारी गर्छौं ।’ सेयरकै विषयलाई लिएर आयोजनाको काममै अवरोध कसैले पनि गर्न नहुने उनले बताए ।
यस अघि पनि २०७१ सालमा सेयर निष्काशनको विषयलाई लिएर एक दर्जन जति विज्ञप्ती सहितका आन्दोलन घोषणा भएको थिए । ति सबैको माग सम्बोधन गर्न नसक्दा आयोजनाको पटक पटक गरी डेढ महिना बढी समय आयोजनाका मजदुरले नै काम रोके । सिंगटीबासीले सडक नै अवरुद्ध गरे ।
स्थानीयको सेयर संकलन नगरी सर्वसाधारणको १५ प्रतिशत सेयर संकलन गर्न पाइन्न । सर्वसाधारण १५ प्रतिशत र जिल्लाबासीको १० प्रतिशत गरी २५ प्रतिशत सेयर संकलन गर्नु पर्छ । त्यसवापत २ अरब ६४ करोड हुन्छ । सेयर संकलन ढिला हुँदा आयोजनालाई मासिक २ करोड ६४ लाख व्याज भुक्तानी गर्नु पर्छ । आयोजनाको हालसम्म ४० अरब खर्च भइसकेको छ । स्थानीय र सर्वसाधारणको सेयर संकलन नभए आयोजनाका लागि भुक्तानी मै समस्या हुने देखिन्छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम पूरा भएको छ ।

सेयर आव्हान नहुँदै आन्दोलन घोषणा
स्थानीयलाई निष्काशन गर्न लागेको सेयर क र ख २ वर्गमा मात्र वितरण गर्नुपर्ने, न्यूनतम् ३ हजारदेखि १० हजारसम्म लगानी गर्न पाउनु पर्ने, वडास्तरमा सेयर संकलन केन्द्र राख्नु पर्ने लगायतका माग राखी संघर्षको कार्यक्रम घोषणा गरेको संयोजक बर्मा लामाले बताए ।
६ गते जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना दिने र चैत १० गते आयोजनासँग सम्बन्धित सवारी साधान रोक लगाउने लगायतका कार्यक्रम घोषणा गरेको छ ।
स्थानीयका लागि दोस्रो पटक सेयर निष्काशनको अन्तिम तयारीमा जुटेको अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीलाई स्थानीयको आन्दोलनको कारण ठेस पुगेको छ । धितोपत्र बोर्डबाट स्वीकृत पाए लगत्तै सेयर निष्काशनका लागि कम्पनीको सेयर निष्काशनकर्ता नागरिक लगानी कोष र सनराइज क्यापिटल पनि तयारी अवस्थामा छन् ।
संघर्ष समितिले एक साता अघि ७ बुँदे ज्ञापन पत्रको बारेमा स्मरण समेत गराएको छ । ज्ञापन पत्रको बारेमा बेवास्था गरेकाले थप संघर्षको कार्यक्रम घोषणा गर्नु परेको संयोजक लामाले बताए । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले ज्ञापन पत्र र संघर्षको कार्यक्रम बारे औपचारीक रुपमा जानकारी नभए तापनि सामाजिक सञ्चालमार्फत आफूले जानकारी पाएको बताए ।
स्थानीयबासी पनि अप्पर तामाकोसीको सेयरको व्यग्र प्रतिक्षामा छन् । तर जब सेयर निष्काशन प्रक्रिया सुरु हुन्छ तब विभिन्न आन्दोलनका कार्यक्रमहरु पनि सुरु हुन्छ । एक हप्ता अघि मात्र नेपाली काँग्रेसका नेता वर्मा लामाको नेतृत्वमा एक संघर्ष समिति बनाएर सेयर वितरणमा गरिएको वर्गीकरण खारेज गरी सबैलाई क र ख वर्गमा विभाजन गर्न माग प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका थिए ।
संघर्ष समितिले ३ वर्ष अघि नै भएको व्यवस्थालाई नै कार्यान्वयन गर्न माग गरेको छ । उनीहरुले आयोजनाका सम्पूर्ण संरचना बनेको लामाबगर र गौरीशंकरलाई अति प्रभावित क वर्गमा राखी बाँकी दोलखाबासीलाई ख वर्गमा राख्न माग गरेको छ । जुन माग ३ वर्ष अघि नै भएको व्यवस्था हो ।
स्थानीयकै मागका आधारमा आयोजनाको जिल्ला समन्वय समितिले एक वर्ष अघि कार्यदल बनाएर दोलखा जिल्लाबासीलाई ३ वर्गमा विभाजित गरी सेयर वितरण गर्ने निर्णय गरेको थियो । स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचित भएपछि गरेको निर्णय अनुसार आयोजना स्थल रहेको लामाबगर र गौरीशंकर साविकको गाविसलाई क वर्गमा, प्रसारण लाइन र प्रवेशमार्गले छोएरका गाविस र नगरपालिकाका वडालाई ख वर्ग र बाँकी जिल्लाबासीलाई ग वर्गमा राख्ने निर्णय गरेको थियो । तर यो निर्णयपछि कोही कसैले विरोध गरेको थिएन ।
सेयर निष्काशनपछि विभिन्न मितिमा स्थानीयका नाममा विभिन्न स्थानमा फरक फरक समूह र राजनैतिक पार्टीहरु समेत लागेर आन्दोलन गरेका छन् । २०७१ सालमा फागुन १५ गतेबाट सेयर संकलनको तयारी पूरा भएको थियो । आन्दोलनकै कारण १५ दिन पछि धकेलिएर चैत १ गतेबाट सुरु गर्ने भने तापनि आयोजनाका मजदुरहरुको १८ दिने आयोजनाको काम समेत ठप्प गरी गरेको आन्दोलन, सिंगटी लगायतका क्षेत्रका स्थानीयको आन्दोलनले सेयर संकलन स्थगित भएको हो ।

Shares

Be the first to comment on "तामाकोसी सेयर फेरि पछि धकेलिदै ,सोमबार चरिकोटमा १ घण्टा चक्का जाम"

Leave a comment

Your email address will not be published.


*