तामाकोसी गाउँपालिकामा हरेक वडामा नयाँ–नयाँ काम

श्रृजनकुमार घिमिरे
च्यामा,–तामाकोसी गाउँपालिकामा हरेक वडामा फरक फरक योजना सञ्चालन गर्ने भएको छ । तामाकोसी गाउँपालिकालाई अरुभन्दा फरक बनाउनका लागि हरेक वडामा फरक फरक नमूना योजना कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले हतारिएर डोजरले भत्काएर बजेट सक्ने भन्दा पनि विकासका सबै पूर्वाधार तयार पार्न र आयआर्जनका लागि आफ्नो गाउँपालिकाले योजनाबद्ध विकास गर्न लागेको बताए । चालु आर्थिक वर्षको बजेट सोचे अनुसार खर्च नभए तापनि सबै पक्षको विकासका लागि काम गर्न लागेको बताए ।
उनका अनुसार वडा नं. १ भीरकोटमा बाल उद्यान, वडा नं. ३ मा बन भोज सञ्चालन गर्ने ठाउँ निर्माण, वडा नं. ४ मा वृद्धवृद्धाहरुका लागि भेला हुने मन्थन गर्ने स्थल तयार गर्ने योजना छ । त्यसैगरी वडा नं. ५ सहरेमा मिनि खेल स्टेडियम निर्माण, वडा नं. ६ च्यामामा भ्यूटावर निर्माण, गढी संरक्षण र वहुमूल्य प्रजातिका कृषि वन नर्सरी र वडा नं. ७ हावामा गुम्बा निर्माण गरिने बताए ।
चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमबाट सम्बन्धित वडाहरुको सिफारिस र योजनामा कार्यक्रम सुरु भए तापनि कार्यान्वयनमा वडा अध्यक्षहरु सक्रिय हुन समेत आग्रह गरे । सबै वडाहरुलाई आफ्नो वडाको प्रमुख योजना पेश गर्न आग्रह गरे तापनि वडा नं. २ झुलेले कुनै पनि योजना पेश नगरेकाले झुलेको प्रमुख योजना सुरु हुन नसकेको बताए ।
‘विकासका लागि सडक, कृषि, विद्युत, शिक्षा र आयआर्जन महत्वपूर्ण हो’ उनले भने ‘अहिले केही साथीहरुले धेरै काम गरेको देखाउन डोजर लगाएर सडक भत्काउने काम गरेको देखिन्छ, तर हामी ढिलै भए पनि दिगो र भरपर्दो विकासको काममा लागेका छौं ।’ गाउँपालिकाले यो बेलासम्म सोचे अनुसारको बजेट खर्च गर्न नसकेको स्वीकार गर्दै अध्यक्ष पोखरेलले गाउँपालिकाको कार्यालय व्यवस्थापन र कर्मचारी अभावका कारण पनि योजना सुरु गर्न समस्या भएको बताए ।
‘अहिले प्राविधिक कर्मचारी सहित केही कर्मचारी करारमा भर्ना गरेर काम सुरु गरेका छौं’ उनले भने ‘अब गाउँपालिकाको विकासको कामले गति लिन्छ ।’ आफ्नो विगतको अनुभव र नयाँ स्थानीय तहको परिकल्पना अनुसार आफ्नो गाउँपालिका अरु भन्दा नमूना बनाउँने योजना छ तर त्यसमा सबै जनप्रतिनिधि, उपभोक्ता समिति र कर्मचारीहरुले पनि साथ दिनु पर्ने बताए ।
गाउँपालिका अध्यक्ष पोखरेलले व्यवसायिक किसानहरुलाई प्रोत्साहन गर्नका लागि उसको योजना अनुसार गाउँपालिकाले अनुदानको व्यवस्था गर्ने योजना बताएको बताए । तामाकोसी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष झनक फुयाँलले व्यवसायिक गाई, भैंसी पाल्ने किसानहरुलाई वडाले अनुदानको व्यवस्थ ागर्ने बताए । कम्तिमा ५ वटा गाई भैंसी उन्नत जातको व्यवसायिक रुपमा पाल्ने किसानलाई डेढ लाखसम्म अनुदानको व्यवस्था गर्ने बताए ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा हरेक वडामा नयाँ–नयाँ काम"

Leave a comment

Your email address will not be published.


*