तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजश्व संकलन

सिन्धुपाल्चोक ७ साउन (रासस)ः चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व संकलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।
त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । संकलितमध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्व दुई करोड उठेको थियो । आगमी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उहाँले बताउनुभयो ।
प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उहाँले बताउनुभयो । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले बताउनुभयो । सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताउनुहुन्छ । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

Shares

Be the first to comment on "तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजश्व संकलन"

Leave a comment

Your email address will not be published.


*