ईश्वर विश्वकर्मा ,चरिकोट ः दोलखाका किसानहरु टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कम लागतमा धेरै उत्पादन हुने भएपछि किसानहरुले टनेलमा तरकारी खेती गरी आम्दानी पनि राम्रो गर्न थालेका हुन् ।
भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारीका दिपक तामाङ चार वर्षदेखि टनेलमा व्यवसायिक तरकारी खेती गर्दै आइरहनु भएको छ । उहाँको करिब १० रोपनी जग्गामा पाँच वटा टनेल घर रहेका छन् । त्यसमा रायोको साग, काउली, भ्यान्टा, मुला लगायतका मौसमी तथा बेमौसमी तरकारीहरू उत्पादन हुने गरेको छ । उत्पादित तरकारीहरु स्थानीय बजार सहित बाहिरी जिल्लामा समेत बिक्री भईरहेको तामाङले बताउनु भयो ।
तरकारी फलाउन प्राङ्गारिक तथा घरायसी मलको प्रयोग गर्ने र सिंचाईको उचित प्रबन्ध मिलाउने गरिएको तामाङको भनाई छ । थोरै क्षेत्रफल र कम लागतमा धेरै आम्दानी लिन सकिने कुरा बुझेपछि टनेलमा खेती सुरु गरिएको उहाँले बताउनु भयो । “टनेल बिना खेती गर्दा सोचे जस्तो भएन । उत्पादन बढाउन टनेलको प्रयोग गर्नुपर्ने बुझेपछि यसरी नै खेती गर्न थालेको हुँ ।” उहाँले तरकारी खेतीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको बताउनु भयो । कम लागतमा बढी मात्रामा स्वच्छ तरकारी उत्पादन हुने, रोगकिराको प्रकोप पनि कम हुने, रेखदेख र सुरक्षा हुने भएकोले टनेलमा तरकारी खेती गरेको उहाँको भनाई छ ।
भीमेश्वर नगरपालिका ४ जिलुका देवबहादुर खड्काले १५ रोपनी जग्गमा पाँच वटा टनेलमा तरकारी खेती गर्दै आउनु भएको छ । उत्पादित तरकारी खरीदका लागि टनेलमै उपभोक्ता आउछन्, भने बाँकी तरकारी स्थानीय बजार र काठमाडौँसम्म जाने गरेको खड्काको भनाई छ । एक वर्षमा सात लाखभन्दा बढी आम्दानी भएको उहाँले बताउनु भयो । रोग, किराले कमै आक्रमण गर्ने, पशु चौपाया, असिना, झरी, हावाबाट पनि सुरक्षित हुने, विषादी पनि न्यून प्रयोग हुने र उत्पादन पनि राम्रो हुने भएकोले टनेलमा खेती गरिएको उहाँले बताउनु भयो । “मौसमी तथा बेमौसमी तरकारी खेतीमा टनेलको प्रयोग गर्दा राम्रो उब्जनी हुने भएकोले टनेलमा तरकारी खेती गरेको हुँ । यसले कृषिलाई व्यवसायिक र आधुनिक बनाएको छ ।” उहाँले भन्नुभयो, “अझ यसलाई थप विस्तार गर्ने योजना बनाएको छु ।”
बालिविज्ञान डिप्लोमा पढेका सचिन चौलागाईँले जिलुमा टनेलमा ब्यावसायिक तरकारी खेती गरिरहनु भएको छ । गत वर्ष देखि सुरु गरिएको खेतीबाट आम्दानी पनि राम्रै हुन थालेपछि सचिनलाई थप जाँगर चलेको छ । आफ्नो तरकारी खेतीलाई जिल्लामै नमूना बनाउने उहाँको भनाई छ । टनेलमा खेति गर्दा उत्पादन प्रचुर मात्रामा हुने भएपछि अध्ययन गरेका कुरालाई व्यवहारमा लागू गरेको उहाँले बताउनु भयो ।
पछिल्ला समयमा टनेलमा खेती गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । स्थानीय सरकारले पनि प्लाष्टिक टनेल अनुदान दिएपछि टनेल खेती झन् फस्टाउदै गएको छ । अहिले गाउँका जग्गाहरुमा प्लाष्टिक टनेलका घरहरु बनेपछि तरकारी उत्पादन समेत बढ्न थालेको छ । पराम्परगत शैलीमा भन्दा टनेलमा खती गर्दा बढी उत्पादन हुने भएपछि किसानहरु यसतर्फ आकर्षित हुन थालेका कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ ।
Be the first to comment on "टनेलको तरकारी खेतीबाट मनग्य आम्दानी"