तपाईलाई कति पर्छ अपर तामाकोसीको सेयर ?कसरी हुन्छ बाँडफाँड ?

दिल सागर

अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयरको प्रतिक्षा सकिएको छ । स्थानीयका लागि सेयर संकलन सुरु भए लगत्तै पनि धेरैमा लगानीको अन्यौता थियो । त्यसबेला पनि यो पंक्तिकारले कति लगानी उपयुक्त हुन्छ भन्ने सुझाव सहितको लेख लेखेको थिए । त्यसैका आधारमा यो विश्लेषन गर्ने कोसिस यो लेखमा गर्न खोजिएको छ ।
विगतेको एक महिना दोलखा सेयरमय भयो । राजधानी र दोलखामा वितेको एक महिना सेयर हाल्न तँछाड मछाड नै भयो । सेयरकै लागि छुट्ला भनेर प्रदेशिएकाहरु समेत जन्मभुमी सम्झेर फर्के, सेयरमा लगानी गरे ।
सेयरमा लगानी गर्नका लागि अब एक दिन मात्र बाँकी छ त्यो पनि थपिएको ७ दिनको भित्रको हो । दोलखा जिल्लाबासीका लागि ३ वर्गमा विभाजन गरी सेयर संकलन भयो । वर्ग अनुसार हरियो, निलो र कालो रङको फाराम क्रमशः क, ख र ग वर्गले भर्ने व्यवस्था गरेको छ । अहिले न्यूनतम ३० कित्तादेखि ३०० कित्तासम्म खरिद गर्न सक्ने व्यवस्था गरेकोे छ ।
अपर तामाकोसीको सेयर दोलखाबासीका लागि प्रतिक्षाको विषय बनेको थियो । अहिले आधा दसकदेखिको सपना पूरा हुन थालेको छ । अहिले पनि जिल्लाबासीका लागि खुलेको सेयरमा कति लगानी गर्ने भन्नेमा सर्वसाधाराण मात्र होइन केही बुझेका पढेलेखेका, बुद्धिजीविहरुलाई पनि प¥यो । सेयर धेरै चाहनेहरु ऋण गरेरै भए पनि सकेसम्म अधिकतम् अर्थात ३० हजार बराबरको ३ सय कित्तामा नै लगानी गर्न खोजिरहेको देखियो ।
लगानी गर्न सहजताका लागि काठमाडौंमा १७ दिनसम्म ११ वटा संकलन केन्द्रको व्यवस्था गरियो । काठमाडौंबाट लगानी गर्नेहरुले अधिकाँशले ३० हजारकै दरले लगानी गरेका छन् । कुल आवेदनको एक तिहाइ काठमाडौंबाटै आवेदन परेका छन् । काठमाडौंबाट परेको आवेदन औसतमा २२ हजार रुपैंयाको लगानी छ ।
सेयर आवेदनको सोमबारसम्मको तथ्याङ्क हेर्दा १ लाख ९५ हजार ७ सयले आवेदन गरेका छन् । त्यसवापत २ अर्ब ९० करोड रुपैंया संकलन भएको छ । तर केही बैंकहरुबाट समयमा तथ्याङ्क अद्यावधिक नगर्दा यो तथ्याङ्क केही बढ्न सक्छ । जसमा क वर्गमा ५ हजार २ सयले आवेदन गरेका छन् । यते तथ्याङ्क २०७१ मा लिएको घरधुरी सर्वेक्षणभन्दा ८ सय बढी हो । त्यसैगरी ख वर्गमा ६३ हजार र ग वर्गमा १ लाख २७ हजारले आवेदन गरेका छन् ।
एउटा जिल्लाबासीका लागि १ अर्ब ५ करोड ९० लाखको सेयर खुलेको हो । यो नेपालको इतिहाँसमै एउटै जिल्लाबाट फिर्ता नहुने गरी संकलन हुनु भनेको ठूलो आकारको सेयर हो । २०७१ तत्कालिन जिविसले गरेको सर्वेक्षण अनुसार २ लाख ८२ हजार दोलखाली सेयर लगानीका लागि योग्य छन् ।
अहिलेको आवेदन हेर्दा २ लाखभन्दा बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । यो भनेको २ तिहाइभन्दा बढी हो । यो आवेदन स्थानीय आयोजना प्रभावितका लागि जारी गरेको सेयरमा सबैभन्दा बढी आवेदन हो । यसले हाम्रा नेताहरुलाई अरु राम्रा आयोजनामा समेत सेयर लगानीका लागि दाबी गर्न आत्मबल बढेको छ ।

यसरी हुन्छ बाँडफाँड
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ पूर्ण कार्यान्वायनमा ल्याइसकेको छ । २०७४ जेठ १२ देखि धितोपत्र बोर्डले उक्त निर्देशिका लागू गराई सकेको छ । पछिल्लो निर्देशिकाले गरेको समानुपातिक सेयर बाँडफाँड प्रणालीले प्राथमिक सेयर साना लगानीमैत्री बनाएको छ । यही निर्देशिका अनुसार नै धितोपत्र बाँडफाँड हुन्छ ।
३ वर्गमा विभाजन गरेर जारी गरेको सेयर अतिप्रभावित क्षेत्र क वर्गका लागि ४ प्रतिशत शेयर ४ लाख २३ हजार ६०० कित्ता, प्रभावित क्षेत्र ख वर्गमा ३६ प्रतिशत अर्थात् ३८ लाख १२ हजार ४ सय कित्ता छुट्याएको छ । त्यसैगरी प्रभावित ग वर्गका लागि ६० प्रतिशत शेयर ६३ लाख ५४ हजार कित्ता छुट्याएको छ ।
बाँडफाँड गर्दा पनि सम्बन्धित वर्गमा परेको आवेदनलाई छुट्टा–छुट्टै राखेर त्यसैलाई सत प्रतिशत मानेर बाँडफाँड गर्नु पर्छ । यो हिसावले हेर्दा क वर्गका आवेदकहरुले ११० देखि १२० कित्ता अर्थात ११ हजारदेखि १२ हजारसम्म लगानी गर्नेले सत् प्रतिशत सेयर पाउँन सक्छन् ।
त्यसैगरी ख वर्गका आवेदकहरुले ८० कित्ता अर्थात ८ हजारसम्म लगानी गर्नेले सत्प्रतिशत पाउँन सक्छन् । ग वर्गका लगानीकर्ताहरुले ६० देखि ७० कित्तासम्म अर्थात ६ हजारदेखि ७ हजारसम्मको लगानी गर्नेहरुले सबै पाउने र त्योभन्दा बढी आवेदन गर्नेहरुको रकम आवेदन फाराममा उल्लेख भएको बैंक खातामा फिर्ता आउँछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बाट पनि बोर्डले वास्तविक लगानीकर्ताको हितमा काम गर्न खाजेको देखिन्छ । आस्बा अनिवार्य हुनुअघि अर्थात असार मसान्तसम्म धितोपत्र बाँडफाँड निर्देशिका २०६८ ले गरेको व्यवस्था अनुसार सेयर बाँडफाँड हुँदै आएको थियो । जहाँ ५० हजार रुपैंयाभन्दा माथिका आवेदकलाई ठूला र ५० हजार भन्दा कम रकमका आवेदकलाई साना लगानीकर्ता भनेर वर्गीकरण गरिएको थियो ।
यो व्यवस्थामा साना लगानीकर्ताको आवेदन संख्या धेरै हुँदा उनीहरु सधैं गोलाप्रथामा पर्ने र १० कित्ता सेयरमा चित्त बुझाउन बाध्य थिए । नयाँ व्यवस्थाले सबै आवेदकलाई १० कित्ता सेयर वितरणलाई अनिवार्य गरेको छ ।
यो व्यवस्थाले अब लगानीकर्ताले पाँच हजार रुपैंयाभन्दा बढी रकम हालेर सेयर आवेदन गर्नु नपर्ने भएको छ । सबै आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने भएपछि १० लाख कित्ता माग्नेले पनि अन्त्यमा पाउने सेयर १० कित्ता नै हो । यस अर्थमा अब पाँच हजार रुपैंयाभन्दा बढीको सेयर आवेदन गर्नेले पनि अरु आइपीओमा १० कित्ता नै पाएका कार्यान्वयन भएको छ ।
यहाँ न्यूनतम् कित्ता ३० कित्ता, ४० कित्ता लगानी गर्नेहरु पनि उल्लेख्य छन् । ३० कित्ता मात्र लगानी गर्नेहरुको संख्या बढी भएमा ख र ग वर्गका लगानीकर्ताहरुले पनि १० हजारसम्म लगानी गर्नेले पनि पाउन सक्ने देखिन्छ । तर वास्तविक रुपमा कति कित्तामा कति लगानी भयो भन्ने महत्वपूर्ण हो ।

dilsagarkc@gmail.com

Shares

Be the first to comment on "तपाईलाई कति पर्छ अपर तामाकोसीको सेयर ?कसरी हुन्छ बाँडफाँड ?"

Leave a comment

Your email address will not be published.


*