राजकुमार भुजेल
चरिकोट, मंसिर ८
दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना तत्काल थाल्न तीन विद्यार्थी संघसंघठनले संयुक्त विज्ञप्ति मार्फत माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू जिल्ला समितिले संविधान र मतदाताको सम्मान र रक्षाको लागि मतगणना कार्य तत्काल सुरु गर्न विज्ञप्तिमार्फत माग गरेका हुन् ।
मतदान पश्चात मतपेटिका संकलन भएको चार दिन बितेपनि मतगणना नहुनुले मतदाताहरुको अपमान भएको ठहर गर्दै उक्त विषयप्रति गम्भिर ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । गौरीशंकर क्याम्पसलाई मतगणना स्थल तोकिएको र मतगणना अनिश्चित हुँदा क्याम्पसमा पठनपाठन समेत प्रभावित भएकोले यसलाई समेत मध्यनजर गरी तत्काल मतगणना सक्काउन विज्ञप्तिमा अपिल गरिएको छ । मंसिर ११ गते बाट अनिवार्य रूपमा सहज वातावरणमा शैक्षिक पठनपाठन सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।
माग पूरा नभए सशक्त रूपमा संयुक्त विद्यार्थी आन्दोलनको घोषणा गर्ने ने.वि. संघका अध्यक्ष भीम बहादुर खड्का, अनेरास्ववियूका अध्यक्ष पुष्पक के.सी र अनेरास्ववियू (क्रान्तिकारी) का सचिव विकल खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
Be the first to comment on "तत्काल मतगणना गर्न विद्यार्थी संगठनहरुको माग"