डिम्याट खाता नभए पनि अपर तामाकोसीमा लगानी गर्न पाउने

चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर हाल्न चाहने स्थानीयबासी(दोलखाली)ले डिम्याट खाता नभए तापनि सेयर हाल्न पाउने भएका छन् । आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको शेयरमा स्थानीयका लागि तत्काल यस्तो सुविधा दिन लागेको हो ।
धितो पत्र ऐन २०७३ मा सेयर लगानी गर्नका लागि डिम्याट खाता अनिवार्य भए तापनि आयोजना प्रभावितका लागि अनिवार्य नभएको अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । कम्पनीले आयोजना प्रभावित दोलखाबासीहरुका लागि सेयर आव्हान पत्र प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएकाले चैत भित्रै सेयर संकलन हुने जानकारी दिए ।
माथिल्लो तामाकोसीमा आयोजना प्रभावित दोलखा जिल्लाबासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधारणबाट १ अर्ब ५८ करोड ८५ लाख उठाउनु पर्छ । तर अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन । ‘बाहिर विभिन्न समाचार आए तापनि त्यसको पछि नलाग्न आग्रह गर्छु” आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने “डिम्याट खोल्दा पछि आफैंलाई सजिलो हुन्छ, तर डिम्याट नभएर सेयर लगानी नै गर्न पाइदैन भन्ने कुरामा कुनै सत्यता छैन ।”
पछिल्लो समय डिम्याट नहुँदा माथिल्लोा तामाकोसीमा लगानी गर्न नपाउँने हो कि भन्नेमा स्थानीयहरु अन्यौलमा परेका छन् । डिम्याट खाता र बैंक खाताका लागि विभिन्न बैक तथा ब्रोकर कम्पनीहरुले गाउँ गाउँमा सेवा पु¥याउँन थालेका छन् । दोलखामा २०७१ सालमा गरेको सर्वेक्षेण अनुसार २ लाख ८५ हजार सेयर लगानीका लागि योग्य नागरिकहरु रहेका छन् ।
दोलखाको सर्वपक्षीय समन्वय समितिले सबैलाई बैंक खाता भने अनिवार्य गरेको छ । प्रमुुख कार्यकारी अधिकृत श्रेष्ठले न्यूनतम् शेयर लगानीकर्ताहरुका लागि बैंक खाता पनि नभए तापनि हुने गरी कम्पनीले पहल गरी रहेको बताए । आयोजनामा लगानी गर्नका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा कम्पनी रहेको छ ।
आयोजनाका लागि प्रभावित क्षेत्र दोलखाबासीका लागि २०७१ फागुनदेखि नै सेयर संकलन गर्नका लागि आव्हान पत्र समेत निष्काशन भएको थियो । तर आयोजना प्रभावित क्षेत्र र मजदुरले समेत थप शेयरको माग राख्दै काम बन्द गरेपछि सेयर संकलन प्रक्रिया स्थगित भएको थियो । पछि २०७२ बैशाख १२ गते भुकम्प गएपछि यो प्रक्रिया पूरै रोकियो ।


‘त्यसबेला आयोजनाका लागि २०७२ बैशाखसम्म दोलखाबासीको र असारसम्म सर्वसाधारणको लागि छुट्याएको शेयर संकलन गर्ने योजना थियो’ कम्पनी सचिव रामसुन्दर श्रेष्ठले भने ‘त्यसपछि अहिलेसम्म त्यो रकम उठाउन सकेका छैनौं ।’ जिल्लाबासीको सेयर संकलन नगरेसम्म सर्वसाधारणको सेयर संकलन गर्न पाइदैन । जिल्लाबासीको शेयर संकलन गर्नका लागि विभिन्न कारणले शेयर संकलन ढिला भएर गत कार्तिक ३० गते मात्र कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नागरिक लगानी कोष र सन्राइज क्यापिलटललाई नियुक्त गरेको छ ।
आयोजना प्रभावितहरुलाई ३ वर्गमा विभाजन गरेर शेयर लगानी गर्न पाउँने व्यवस्था गरेको छ । आयोजना अति प्रभावित जहाँ आयोजनाको मुहान र सम्पूर्ण संरचना बन्छ त्यहाँ क वर्गमा राखेको छ । क वर्गमा साविकको लामाबगर र गौरीशंकर गाविस पर्छ । प्रवेश मार्ग र प्रसारण लाइनले छोएका गाविसलाई ख र बाँकीलाई ग वर्गमा विभाजन गरेको छ ।

आयोजनाको शेयर संरचनाअनुसार नेपाल विद्युत प्राधिकरण ४१%, नेपाल टेलिकम ६%, नागरिक लगानी कोष २%, राष्ट्रिय विमा संस्थान २%, कर्मचारी सञ्चय कोष १७ दशमलब २८%, सर्वसाधारण १५%, कर्मचारी सञ्चयकोषका कर्मचारी २ दशमलब ८८%, कम्पनी र विद्युत प्राधिकरण कर्मचारी ३ दशमलब ८४% र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत शेयर रहेको छ ।
आयोजनामा दोलखाबासी र सर्वसाधारणको २५ प्रतिशत बाहेक सबैले लगानी गरेका छन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ताहरु, टेलिकम, बीमा संस्थान, नागरिक लगानी कोष, विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारीहरु २०७१ फागुनसम्म नै सेयर संकलन भई सकेको छ ।
आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर पुँजी ११ अर्ब ५९ करोड रहेको छ । बैंकको व्याज बाहेक ३५ अर्ब २९ करोड लागत अनुमान गरेको आयोजनामा लागत बढेर ४६ अर्बसम्म पुग्ने प्रक्ष्येपन गरिएको छ । आयोजनाको हालसम्म ९४ प्रतिशत काम पूरा भएको छ भने ३९ अर्ब जति खर्च भइसकेको छ ।

Shares

Be the first to comment on "डिम्याट खाता नभए पनि अपर तामाकोसीमा लगानी गर्न पाउने"

Leave a comment

Your email address will not be published.


*