ठुला लगानीकर्ता भित्राउन दोलखामा लगानी सम्मेलन हुने

चरिकोट /कविराज थामी – समग्र जिल्लाको विकास र समृद्धिका लागि ठुला लगानी भित्राएर समृद्ध जिल्ला बनाउने भन्दै दोलखामा लगानी सम्मेलन आयोजना हुने भएको छ ।
राजधानीबाट नजिक र धेरैजसो स्रोत , साधनले सम्पन्न हुँदाहुँदै पनि जिल्लामा बहुराष्ट्रिय कम्पनिहरुको नजर नपरेको भन्दै दोलखा लगानी सम्मेलन आयोजना गर्न लागिएको हो । दोलखा उद्योग वाणिज्य संघको अगुवाइमा आयोजना हुन लागेको सम्मेलनका लागि निजी क्षेत्र र स्थानीय तहहरु सम्भावित योजनाहरु छनोटमा लागि परेका छन् । निजी क्षेत्रको तर्फबाट दोलखा उद्योग वाणिज्य संघले विभिन्न योजनाहरु अघि सार्ने तयारी गरेको छ । संघका महाँसचिब हेमराज रिमालले जलविद्युतको अपार क्षमता रहेको जिल्ला भएपनि भनेजति आयोजनाहरु निर्माण हुन नसेकेको भन्दै सम्मेलनमा जलविद्युत विकासको एजेण्डा प्रमुख बनाएर लैजाने बताए । उनका अनुसार जलविद्युत आयोजनासँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको जिल्ला दोलखा भएकाले पर्यटकहरुलाई लक्षित गरि सुविधासम्पन्न तारे होटलहरु निर्माणको प्रस्ताब पनि सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनमा कृषी उत्पादन , जडीबुटी उद्योग , पर्यटनसँग सम्बद्ध व्यवसायहरु र अन्य सम्भावित योजनहरु तयार भैरहेको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना गर्न लागेको वृहत दोलखा महोत्सबको अवसरमा महोत्सब उद्घाटनको पहिलो दिन गर्न लागेको सम्मेलनमा नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीका लगानीकर्ता दोलखा उतार्ने तयारी गरेको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार लगानी सम्मेलन र बृहत दोलखा महोत्सबका लागि संघले नेपाल उद्योग वाणिज्य महासंघ सहित देशका विभिन्न नगर तथा जिल्ला उद्योग वाणिज्य संघमा पुगेर परामर्श गर्ने काम भैरहेको छ । अध्यक्ष श्रेष्ठले अहिलेसम्म देशभरका २ दर्जन भन्दा धेरै उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण तथा दोलखामा लगानीको सम्भावनाका बारेमा छलपफ भैसकेको र सकेसम्म सबै खालका लगानीकर्ताहरुसम्म पुगेरसमन्वय गरिने बताए ।
लगानी बोर्डको चासो
दोलखा लगानी सम्मेलन २०७६ मा सकेसम्म धेरै लगानी भित्राएर समग्र जिल्लाको विकासका लागि लगानी बोर्डले आबश्यक सहयोग गर्ने जनाएको छ । नेकपाका नेता एवं लगानी बोर्डका सदस्य बालकृष्ण शिबाकोटीले यस अघि पनि जिल्लाका केही मेघा प्रोजेक्ट निर्माणका लागि बोर्डले अध्धयन गरिरहेको जनाउदै संघले आयोजना गर्ने सम्मेलन जिल्लाका विकासका लागि अर्को कोशेढुंगा साबित हुने जनाएका छन् । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी लगाएत नेपालका प्रतिष्ठित व्यवसायीहरु अजय सुमार्गी , पशुपति मुरारका, शेखर गोल्छा, विनोद चौधरी , किसोर प्रधान, चन्द्र ढकाल , ज्ञानेन्द्रलाल प्रधान लगाएत थुप्रै व्यवसायीहरुलाई आमन्त्रण गरिसकेको जनाइएको छ ।

Shares

Be the first to comment on "ठुला लगानीकर्ता भित्राउन दोलखामा लगानी सम्मेलन हुने"

Leave a comment

Your email address will not be published.


*