बाबुराम शर्मा
चरिकोट, बैशाख १९
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखाको उत्तरी दुर्गम सुरीका अल्पसंख्यक लोपोन्मुख सुरेलहरु भने कुनै वास्ता नै नगरी मौन बसेका छन् ।
आफ्नै घरआँगनमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु भोट माग्न आउँदा पनि सुरेलका कुनै व्यक्तिलाई वडा सदस्य समेतको टिकट नपाएपछि मौन रहनु परेको उनीहरुको गुनासो रहेको छ ।
सबै दलका नेता कार्यकर्ता हामीलाई भोट दिनुप–यो भन्छन् तर न सुरेलका समस्या सुन्छन् न उम्मेदवार नै चाहियो भन्छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सुरेल जाति उत्थान समाज सुरीका अध्यक्ष सुवास सुरेलले यस्तो गुनासो पोख्नु भयो ।
उहाँका अनुसार चुनावी चटारोभन्दा पनि घरआँगनको सरकारको सचेतना ठूलो मान्दै गाउँका बालबालिकादेखि वृद्धवृद्धा समेतले बहस सुरु गर्न थालेका छन् । मेलापात, घर निर्माण आदि काम गर्न छाडेर स्थानीय सरकारमा आदिवासी जनजातिको कसरी पहुँच पु–याउने भन्दै बहस सुरु गर्न थालेका रमेश सुरेलले जानकारी दिनु भयो ।
नेकपा एमाले गौरीशङकर गाउँपालिकाका सदस्य समेत रहेका रमेश सुरेलका अनुसार उहाँलगायत नेपाली कांग्रेसका भीम बहादुर सुरेल,नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य रवीन्द्र सुरेल र विकास सुरेल सुरेल समुदायको अगुवाको रुपमा चिनिन्छन् । तर स्थानीय तहको यो चुनावमा हामी कुनैले पनि टिकट पाउने अवस्था देखिँदैन ।
गत २०४३ सालमा गाउँका हर्क बहादुर सुरेलले उपप्रधानपञ्चमा दुई मतले हार्नु भएको थियो । त्यसपछि कसैले पनि उम्मेदवारी दिएका छैनन् । सरकारी क्षेत्रमा अहिलेसम्म दुई जनाले मात्र सेवा गर्न पाएका छन् । राजनीति क्षेत्रमा इच्छा र सशक्त उम्मेदवार हुँदा पनि ठूला भनाउँदा कुनै पार्टीले पनि वास्ता नगरेपछि निराश बन्न पुगेको छ पूरै वस्ती । भोट चाँिहदा हामीलाई झण्डा बोकाउने तर कसैलाई चुनावमा अवसर नदिने गरेको गुनासो पोख्छन् गाउँलेहरु ।
उनीहरु यदि वडा सदस्यको मात्र टिकट पाउने भए पनि यो पार्टी र ऊ पार्टी नभनी ८० भोट नै उही पार्टीलाई दिने समेत बताउँछन् । अब फुट होइन एक जुट भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।
साविक सुरी ८ मा बसोबास गर्ने सुरेलहरुका ९२ घरधुरी छन् । लोपोन्मुख सूचिको १० भित्र पर्ने उनीहरुको जनसंख्या २३५ छ भने मतदाता भने ८० मात्र रहेको एक तथ्याङ्कले देखाएको छ ।
Be the first to comment on "टिकट नपाएको गुनासो"