जेष्ठ नागरिकलाई पानी तताउने सामाग्री वितरण

दीक्षण समाचार
चरिकोट, मंसिर २७
दोलखाको भीमेश्वर नगरपालीका वडा नं। २ का जेष्ठ नागरिकहरुलाई स्वच्छ र तातो पानी पिउने सामाग्री वितरण गरिएको छ । ८० वर्ष माथीका ८५ जना जेष्ठ नागरिकलाई मंगलबार वडाले हटवाटर व्याग, विद्युतीय जग र थर्मस वितरण गरेको हो । जेष्ठ नागरिकको सम्मान र स्वास्थ्य सुरक्षाका लागि ती सामाग्रीहरु वितरण गरिएको वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो । उहाँले चालु वर्षको दुई लाख रुपैयाँ बजेटले तातो पानी पिउने सामाग्री खरीद गरी वितरण गरिएको जानकारी दिनु भयो ।
वडाध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकलाई स्थानीय सरकार रहेको प्रत्याभूति दिलाउँदै खुशी पार्ने प्रयासमा उक्त सामाग्रीहरु वितरण गरिएको बताउनु भयो । वितरण कार्यक्रममा तातो र स्वच्छ पानी उपभोग गर्दा विभिन्न रोगबाट बच्न सकिने सचेतना पनि प्रवाह गरिएको छ । जेष्ठ नागरिकको शारीरिक अवस्था र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले खानपानमा विषेश ध्यान अपरिहार्य रहेको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । जेष्ठ नागरिकहरु छिटो र सहजै तातो पानी पिउने उपयोगी सामाग्री पाउँदा खुशी भएका छन् । जेष्ठ नागरिकलाई वितरण गरी बाँकी रहेका सामाग्रीहरु दीर्घ रोगी, असहाय विपन्न नागरिकलाई तिवरण गरिने वडाले जनाएको छ ।
आरान उद्योगीलाई अनुदानमा प्रविधि
सोही कार्यक्रममा चार जना आरान उद्योगीलाई प्रविधि वितरण गरिएको छ । आरान उद्योगलाई आधुनिक बनाउन आवश्यक पर्ने ग्रिल तथा वाइलिङ्क मेसिन, ग्रेन्डर लगायतका सामाग्री वडाले वितरण हो । वडाध्यक्ष श्रेष्ठले पुराना प्रविधिले सञ्चालित आरान उद्योगलाई सुधार गरी आधुनिक उद्योगको रुपमा विकास गर्न सहयोग पुगोस् भनेर चार जनालाई गरी दुई लाख बराबरको सामाग्री वितरण गरिएको बताउनु भयो । सामाग्री प्राप्त गर्ने उद्योगीहरुमा सुवास बिश्वकर्मा, राजु बिश्वकर्मा, भरत बिश्वकर्मा र सोम बहादुर बिश्वकर्मा हुनुहुन्छ । वडाध्यक्ष श्रेष्ठले कृषि तथा घरायसी औजार उत्पादन गर्ने आरानलाई आधुनिक उद्योगको विकास गर्न दलित समुदायको आर्थिक जीवन समृद्ध हुने बताउनु भयो । आरानलाई आधुनिक बनाउन र यसतर्फ युवा आकर्षणका लागि वडाको तर्फबाट सहयोग हुने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

Shares

Be the first to comment on "जेष्ठ नागरिकलाई पानी तताउने सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*