जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोधः गणतन्त्र दिवस तीन दिन मनाऔँ

राजकुमार भुजेल
चरिकोट, जेठ १३
गत दुई वर्ष कोरोना महामारीका कारण जेठ १५ गते मनाइने गणतन्त्र दिवस भव्यतापूर्वक मनाउन असम्भव भएपछि दीप प्रज्वलन मात्र गरिएको थियो । तर यो वर्षको गणतन्त्र दिवस भने दीपावलीसँगै शुभकामना सन्देश प्रवाह गरी विविध कार्यक्रमका साथ तीन दिन मनाइने भएको छ । दोलखा पनि जेठ १४, १५ र १६ गते सबै सरकारी कार्यालय, संघसंस्थाहरुले राष्ट्रिय झण्डा फहराउने, गाउँपालिकाहरुले आफ्नो पालिका भित्रका मन्दिर, देवालय, पार्क लगायत धार्मिक तथा सांस्कृतिक स्थलहरुको सरसफाइ एवं सौन्दर्यकरणमा बृद्धि गरी गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक सूचना जारी गर्दै तीन दिनसम्म गणतन्त्र दिवस मनाउन अनुरोध गर्दै उक्त दिनहरुमा दिवस मनाउने विधि र कार्यको निर्धारण समेत गरेको हो । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कर्मचारी र आम सर्वसाधरण नागरिकलाई यस वर्षको गणतन्त्र दिवस मनाउन अनुरोध गर्नुभएको हो । अघिल्ला वर्षहरुमा कोरोनाका कारण भएको लकडाउन र भीडभाड गर्न नमिल्ने भएको हुँदा गणतन्त्र दिवसमा आयोजना हुने थुप्रै गतिविधि तथा कार्यक्रम भएका थिएनन् । यो पटक भने कोरोना साम्य भएको र कुनै अवरोध नभएकोले २४० वर्षे शाह वंशीय राजतन्त्रको अन्त्य भएको दिनलाई स्मरण गरी गणतन्त्र दिवस मनाउन लागिएको हो । गणतन्त्र दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नागरिकको सहभागिता अपरिहार्य हुने भएकोले सोही अनुरुप हुन पर्ने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । यस्ता दिवसहरुले इतिहासको स्मरण गराउने मात्र नभई भविष्यमा समेत देश र माटोको रक्षा तथा नागरिक स्वतन्त्रता र हकअधिकारका लागि संघर्ष, आन्दोलन र बलीदानीका लागि कर्तव्यबोध गराउने गर्दछ ।

Shares

Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोधः गणतन्त्र दिवस तीन दिन मनाऔँ"

Leave a comment

Your email address will not be published.


*