जिल्लास्तरीय औद्याेगिक प्रद्धर्शनी मेला सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २८
उद्योगको प्रबद्र्धन तथा बजारीकरण गर्न दोलखाको सदरमुकाम चरिकोटमा जिल्लास्तरीय औद्योगिक प्रदर्शनी मेला कार्यक्रम सुरु भएको छ । शनिबारदेखि सुरु भएको दुई दिवसीय कार्यक्रममा कृषिजन्य, पशुजन्य, काष्ठजन्य सहित हस्तकलाका सामाग्रीका ६५ वटा स्टल राखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दोलखाको आयोजनामा सञ्चालित सो कार्यक्रमले जिल्लाको पर्यटन प्रवद्र्धन, औद्योगिक सामाग्रीको बजारीकरण तथा प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।
उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख मिनबहादुर तामाङले घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीलाई जिल्लास्तरसम्ममा चिनाई बजारीकरण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सुनाउनुभयो । उहाँले जिल्लामा उत्पादित औद्योगिक सामाग्रीको प्रयोग गरी उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुहुँदै स्वदेशी सामाग्रीको प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने सुनाउनुभयो । उहाँले कोरोना महामारी, कच्चा पदार्थमा भएको मूल्य बृद्धिका कारण लघु तथा साना उद्योगलाई प्रत्यक्ष प्रभाव परेकोले राज्यको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
जिल्लामा साना तथा घरेलु उद्यम तर्फ युवा आकर्षण बढिरहेको बेला उद्योग सञ्चालनको क्रममा आइपर्ने समस्याहरुको समाधान र सहयोगका लागि घरेलु तथा साना उद्योग कार्यालय तयार रहेको उहाँले बताउनुभयो । ”गाउँमै लगानी अनुसारको घरेलु उद्योग खोलौँ । स्वरोगार बनौँ, रोजगार दिऔँ ।’ कार्यालय प्रमुख तामाङले भन्नुभयो ”उद्यमीहरुलाई हाम्रो कार्यालयले सहयोग गर्न सदैव तत्पर छ ।’
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले प्रद्धर्शनीमा राखिएका सामाग्रीहरुको अवलोकन गरी उद्यमीहरुलाई शुभकामना प्रदान गर्नुभएको थियो । मेलामा औगोगिक प्रद्धर्शनीका साथै सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत भईरहेको छ । यसले मेलाको आकर्षण बढाएको छ । आइतबार साँझ समापन समारोहमा सर्वोत्कृष्ट, उत्कृष्ट, सामान्य उत्कृष्ट उद्यमीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "जिल्लास्तरीय औद्याेगिक प्रद्धर्शनी मेला सुरु"

Leave a comment

Your email address will not be published.


*