जिलुमा भुस्याहा कुकुरको आतङ्क

दीक्षण समाचार
चरिकोट, भदौ २२
भुस्याहा कुकुरको आक्रमणमा पर्न थालेपछि भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुका स्थानीयहरु आतङ्कित भएका छन् । गल्ली तथा चोकचोकमा डुलिरहने भुस्याहा कुकुरले स्थानीय र पशुपन्छीलाई देख्नासाथ आक्रमण गर्न थालेपछि जिलुमा त्रास बढेको हो ।
वडाध्यक्ष तारानाथ चौलागाईँले जिलुमा दुई साता अघिदेखि कुकुरको आक्रमणसँगै त्रास बढेको बताउनुभयो । कुकुरका कारण स्थानीय, बटुवा र विद्यार्थीहरुलाई बाटोमा हिड्न समस्या भएको छ । खेतबारी र काममा निस्कन समेत डराउनुपर्ने अवस्था आएको छ ।
वडाध्यक्ष चौलागाईँका अनुसार केही साता अघि डबलीमा छलीमाया श्रेष्ठलाई कुकुरले टोकेर घाइते बनाएको थियो । उहाँको उद्धार गरी अस्पतालमा लगेर उपचार गरिएको छ । केही दिन अघि ब्याएको लाहुरी भैँसीको पाडो कुकुरको आक्रमणबाट मरेको छ । ब्याएको पाडो मरेपछि किसान अहिले विक्षिप्त अवस्थामा रहेका छन् । बाख्रा र कुखुराहरुलाई समेत कुकुरले आक्रमण गरी घाइते बनाएको भनी व्यापक गुनासो आएको वडाध्यक्ष चौलागाईँले सुनाउनु भयो ।
उहाँले भुस्याहा कुकुरलाई बेलैमा नियन्त्रण गर्न नसके गाउँमा घाइते व्यक्तिको संख्या, पशुपन्छीको क्षति र रेबिज संक्रमणको जोखिम बढ्न सक्ने बताउँदै सरोकारवालासँग यसको निम्ति पहल गरिने बताउनु भयो ।
जिलुमा छाडा छाडिएका कुकुरको विगविगी बढेको छ । त्यसको नियन्त्रण तथा व्यवस्थापन नहुँदा कुकुर आक्रमणको घटनासँगै त्रास बढेको हो ।

Shares

Be the first to comment on "जिलुमा भुस्याहा कुकुरको आतङ्क"

Leave a comment

Your email address will not be published.


*