इश्वर बिश्वकर्मा
चरीकोट, फागुन २२
दोलखाका युवा व्यवसायी शान्तकुमार जिरेलको ‘किस्मत’ पुस्तक सार्वजनिक गरिएको छ । बाल्यकालदेखि हालसम्मका अनुभव र अनुभूतिका विभिन्न विषयवस्तु लेखिएको पुस्तक उहाँको जन्म दिनको अवसरमा आइतबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । जिरेलले आफ्नो जीवन यात्रामा चुनौती, बाधाब्याबधान, सफलता, खुशी लगायतका सबै किसिमको अनुभव गरेको र सोही अनुभव पाठक माझ लैजान पुस्तक प्रकाशन गरिएको बताउनुभयो । उक्त पुस्तकबाट पाठकहरुले मानव जीवनलाई सफलीभूत पार्नका लागि गर्नुपर्ने संघर्ष, व्यक्तित्व विकासका सुत्र र समृद्ध राष्ट्रको परिकल्पना लगायतका प्रेरणात्मक शिक्षा प्राप्त गर्ने छन् । बालक अवस्था देखि हालसम्मका जीवन भोगाई समेटी पुस्तक प्रकाशन गरिएको र आइतबार आफ्नो जन्म दिनको अवसरमा पुस्तकमार्फत समाजमा अनुभव सार्वजनिक गरिएको उहाँले बताउनुभयो । उक्त पुस्तक चरीकोट मिडिया फाउण्डेशनले प्रकाशन गरेको हो । ग्रामीण क्षेत्रमा जन्मिएर अभाव र चुनौतीको सामना गर्दै औपचारिक शिक्षा हासिल गरेको र उक्त शिक्षाको प्रभावका कारण समाजमा सन्देश प्रवाहका लागि आफ्ना वास्तविक अनुभवहरुलाई पुस्तकमा समाविष्ट गरिएको उहाँले जानकारी दिनुभयो । बाल्यकालदेखि नै मिहिनेती र परिश्रमी भएकोले अहिलेको अवस्थासम्म आउन युवा व्यवसायी, लेखक जिरेललाई सहज भएको पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि पदम जिरेलले बताउनुभयो । सो कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल, भीमेश्वर संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, चरीकोट मिडिया फाउन्डेशनका अध्यक्ष जीवन लामा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Be the first to comment on "जिरेलको ‘किस्मत’सार्वजनिक"