जिरी छिर्ने वित्तिकै पार्किङ शुल्क

दीक्षण समाचार
जिरी १९ माघ
जिरी नगरपालिकाले जिरी प्रवेश गर्ने सवारी साधनबाट शुल्क लिन थालेको छ । इलाका प्रहरी कार्यालय जिरीसँगै प्रहरीको गाडी चेक पोष्टमै राजमार्गमा नगरपालिकाले कर्मचारी राखेर शुल्क लिन थालेको हो ।
नगरपालिकाले जिरीमा भित्रीने सवारी साधनलाई पार्किङ र सरसफाइ शुल्कका नाममा राजमार्गमै बसेर शुल्क उठाउन थालेको हो । गत पुस १ गते देखि सुरु गरेको यस्तो व्यवस्था कार्यान्वयनमा आएको डेढ महिना बितेको छ ।
जिरी प्रवेश गर्ने ठूला बस, ट्रकका लागि प्रति पटक ६०, मिनी ट्रक, मिनी बस, भ्यान, ट्याक्टरका लागि ५० र साना जिपका लागि ४० रुपैयाका दरले शुल्क लिने गरिएको छ । तर जिरीको सडक हुँदै ओहोर दोहोर गर्ने सबै सवारी साधनसँग शुल्क लिने गरेको छ । प्रहरी चेक पोष्टमा इन्ट्रि गर्न गाडी रोकेको मौका छोपेर नगरपालिकाका कर्मचारीले गाडीधनीलाई रसिद थमाएर पैसा अशुल्दै आएका छन् ।
नगरपालिकाले राजमार्गमा बसेर शुल्क उठाउन थालेपछि स्थानीय व्यवसायीहरुले भने विरोध गरेका छन् । जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पाले पार्किङ शुल्क पार्किङस्थलमै उठाउनु पर्नेमा राजमार्गमा प्रहरीसँग बसेर उठाउनु नहुने बताए । “नगरपालिकाले तोकेको पार्किङस्थलमा पार्किङ गर्दा पार्किङ शुल्क उठाउनु उसको अधिकार होला” उनले भने “तर गेटबाट छिर्ने वित्तिकै सडकमा गुड्ने सबैसँग शुल्क लिनु उपयुक्त नहुने बताए ।”
सडकमा बसेर जथाभावी शुल्क लिंदा जिरी आउने पर्यटकहरुमा नकारात्मक सन्देश गएको उनले बताए । पर्यटक आएनन् भनेर व्यवसायीहरु छुट सहितका प्याकेजको घोषणा गर्ने तर नगरपालिका भने जिरी हुँदै ओहोरदोहोर गर्ने सबैसँग शुल्क लिंदा त्यसले नकारात्मक सन्देश गएको उनले बताए । व्यवसायीहरुका तर्फबाट नगरपालिकालाई पटक पटक यसबारे पुनः विचार गर्न माग गर्दा वास्ता नगरेको गुनासो गरे ।
जिरी नगरपालिकाका मेयर टंक जिरेलले नगरपालिकाको आर्थिक ऐन २०७५ को दफा २३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सवारीका साधनको पार्किङ व्यवस्थापन गर्न लागिएको बताए । ‘क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी’ को नारालाई पूरा गर्नका लागि जथाभावी फोहोर नहोस् भन्नाका लागि पनि गाडीसँग सरसफाइ दस्तुर लिएको बताए । शुल्क उठाउने क्रममा कुनै कमजोरी भए तत्कालै नगरकार्यपालिकाको बैठक बसेर सुधार गर्ने प्रतिबद्धता जनाए ।
अघिल्लो साता ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफ्ना अर्थमन्त्री सहित २ दिन जिरी भ्रमण आए । जिरी भ्रमणका बेला मुख्यमन्त्रीसँग पनि पर्यटकहरुले नगरपालिकाले गेटमै बसेर लिएको शुल्कबारे जिज्ञासा राख्दा मुख्यमन्त्रीले कुनै पनि स्थानीय तहले राजमार्गमा बसेर कुनै पनि शुल्क उठाउन नपाउने बताए ।
“सडकमा बसेर सडक बोर्डले मात्र तोकिएको स्थानबाट शुल्क उठाउँने अधिकार छ” उनले भने “स्थानीय तहहरुले तोकिएको अधिकार बाहेकको दोेहोरो जथाभावी रकम अशुल्न पाउँदैनन् ।” प्रदेश अर्थमन्त्री कैलाश ढुङ्गेलले नियम विपरित लिने गरिएको शुल्क तत्काल बन्द गर्न दिएको निर्देशन एक हप्ता विते पनि कार्यान्वयनमा भने आउन सकेको छैन ।

कानुन मिचे जरिवाना
नगरपालिकाले निषेधित क्षेत्र भनी तोकेको स्थानमा ट्रक, यात्रुवाहक बस, ट्रिपर र ट्याक्टर पार्किङ गरेमा प्रतिपटक ३ सय जरिवाना तोकेको छ । पार्किङ स्थल भनी नतोकिएको अन्य जुनसुकै स्थानमा पार्किङ गरिएमा १ सय रुपैंया जरिवाना लाग्ने छ । यस्तै, निषेधित क्षेत्रमा बोलेरो, कार, जिप, भ्यान र अटो रिक्सा पार्किङ गर्नेले २ सय र अन्य स्थानमा पार्किङ गरेको पाइएमा ७० रुपैंया जरिवाना हुनेछ । नगरपालिकाको निषेधित स्थानमा मोटरसाइकल पार्किङ गर्नेले ५० रुपैंया र अन्य स्थानमा पार्किङ गर्नेले २० रुपैंया जरिवाना तिर्नुपर्ने छ । यो बाहेक जिरी प्रवेश गर्ने सवारी साधनले प्रतिपटक पार्किङ शुल्क ५० रुपैंया तिर्नुपर्नेछ ।
नगरपालिकाले नगरपालिकाभित्रका जुनसुकै स्थानमा ट्रक, बस, ट्रिपर तथा ट्याक्टरबाट फोहोर फ्याक्नेलाई पनि कारवाही गर्ने भएको छ । फोहोर फ्याकिए सम्वन्धित सवारी साधनलाई नगरपालिकाले पहिलो पटक एक सय र दोहोरिएमा ३ सय जरिवाना गर्नेछ ।
आर्थिक ऐनले व्यवस्था गरे अनुसार अव जिरी नगरपालिका प्रवेश गर्ने सवारीका साधनले प्रति पटक १० रुपैयाँ सरसफाई शुल्क तिर्नु पर्नेछ भने गाडि भित्र अनिवार्यरुपमा डस्टबिन राख्नु पर्नेछ । मोटरसाईकललाई भने सरसफाई शुल्क लाग्ने छैन । बार्षिक रुपमा एकमुष्ठ शुल्क बुझाउन चाहने सवारीका साधनलाई भने २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Shares

Be the first to comment on "जिरी छिर्ने वित्तिकै पार्किङ शुल्क"

Leave a comment

Your email address will not be published.


*