जिरीमा घरघरै किबी खेती

दीक्षण समाचार
दोलखा, २६ मंसिर
जिरी नगरपालिका भित्रका किसानहरुले घरघरै किबी रोपेका छन् । पछिल्लो समय पाखो बारी उपयोग गर्दै किबी रोप्ने अभियान चलेसँगै जिरीमा प्रायः घरघरमै किबी रोपेका छन् । किबी खेती बढेसँगै उत्पादन समेत बढेको छ ।
अघिल्लो वर्ष ५ सय केजी उत्पादन भएको माथिल्लो सिक्री पशुपालन तथा कृषि फर्मले यस पाली १ हजार ५ सय केजी उत्पादन गरेको छ । ४ वर्ष अघि रोपेको किबीका बोटले गत वर्षदेखि उत्पादन दिन थालेको फर्म सञ्चालक ओलकबहादुर जिरेलले बताए ।
“मेरो फाराममा भएको बोटबाट आसिंक मात्र फल फलेका छन् ।” उनले भने “सबै बोटबाट पूर्ण रुपमा फल्न अझै २ वर्ष लाग्छ, त्यसपछि १२ देखि १५ टन जति फल्छ ।” उनले ३० रोपनी पाखो जग्गा सदुपयोग गरेर ४५० बोट लगाएका छन् । तर उत्पादन अनुसार बजारको समस्या रहेको उनले बताए ।
जिरी नगरपालिका वडा नं. ३ मालीका बलराम दाहालको घर वरपर पनि ३ सय बोटमा किबी फलेका छन् । उनको पनि एक हजार केजी किबी फलेको छ । यो पनि अघिल्लो वर्षभन्दा दोब्बर हो । व्यक्तिगत लगानीमा सबैभन्दा धेरै किबी लगाउने किसान दाहाल हुन् । किबी फल्न थालेपछि धेरै हुँदो रहेछ थाङ्ग्रो दिनै समस्या हुने उनले बताए ।
ठूला फामहरुमा हिमाली आयोजनाको सहयोग ८० प्रतिशतसम्म भयो । आयोजनाले लगानी गरेको ठाउँमा जिआइ पाइप र तारको व्यवस्थित थाङ्ग्रा दिएका छन् । भण्डारणको समेत कतिपयले व्यवस्था गरेको छ । तर व्यक्तिगत लगानी गर्नका लागि राज्यको पनि सहयोग भए हुने उनले तर्क छ ।
जिरी नगरपालिका भित्र अघिकाँश किसानका बगैंचामा किबी छन् । माली र जिरीका न्यूनतम् ५ बोटदेखि १२ सय बोटसम्म रोप्ने किसान छन् । किबी ब्लक जिरीका उपाध्यक्ष समेत रहेका बलराम दाहालले भने घरघरै किबी छन् । किसानहरु बढाउनै लागेका छन् । तर अब बजारको व्यवस्थापनमा स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने उनले जोड छ ।
जिरी नगरपालिकामा ४ वर्ष अघि ५ हजार विरुवा किसानले रोपेका छन् । पछिल्लो २ वर्षमा १५ हजार विरुवा थपिएका छन् । अहिले जिरी भित्रका श्यामा, माली र जिरीमा मात्र २० हजार बोट किबी रोपिएको किसान ओलक जिरेलले बताए ।
दोलखामा किबीको खेती बढेसँगै सरकारले किबी जोन आयोजना सुरु गरेको छ । तर किबी जोनले सबैभन्दा बढी किबी किसान भएको जिरीलाई नसमेटेकोमा जिरीका किसानहरु अचम्मित छन् ।
आव २०७५।०७६ मा जिल्लामा एक सय ८५ मेट्रिक टन किवी उत्पादन भएको छ । गत आवभन्दा यो वर्षको उत्पादन ९१ मेट्रिक टन बढी हो । गत वर्ष साविक कृषि विकास कार्यालयको तथ्यांकअनुसार ९४ मेट्रिक टन मात्र किवी फल उत्पादन भएको थियो ।
जिल्लाका मुख्य बजारक्षेत्रका व्यापारीले फलफूलका नाममा स्याउ, केरा र अनार मात्र बिक्री गर्ने गरेकामा यस वर्षबाट किवी पनि बिक्री गर्न थालेका छन् । विगतमा लगाइएका बोटले क्षमताअनुसारकै उत्पादन दिन सुरु गरेका कारण यो वर्ष किवी उत्पादनमा उल्लेख्य वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ किवीजोन दोलखाका प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । पहिलो वर्ष भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र शैलुङ गाउँपालिकाका केही वडाहरुमा जोनले कार्यक्षेत्र बनाए तापनि पछिल्ला दिनहरुमा जिरी लगायतका क्षेत्रलाई समेट्ने उनले बताए ।
पोखरेलका अनुसार अहिले किसानले बोटबाट सीधैं प्रतिकेजी एक सय ८० रुपैयाँमा किवी बिक्री गरिरहेका छन् । बजारमा २ सयदेखि ३ सय प्रति केजीमा बिक्री भइरहेको छ । यो वर्ष दोलखामा करिब ४ करोड किवीबाट आम्दानी हुने अनुमान भएको छ ।
किवीफल अत्यन्त पोषिलो, मधुमेह रोगीसमेतले पनि खान मिल्ने फल मानिन्छ साथै यसबाट उच्च गुणस्तरको वाइन तथा जुस समेत बनाउन पनि सकिन्छ । दोलखामा हेवार्ड, एलिसन, मन्टि, बरुण, रेड, एबोड, गोल्डेन तथा मिनी किवी गरी आठ प्रकारका किवीखेती हँुदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ किवी जोन दोलखाका अनुसार हाल दोलखामा दुई सय ५२ हेक्टरमा किवीखेती भइरहेको पाइएको छ ।

Shares

Be the first to comment on "जिरीमा घरघरै किबी खेती"

Leave a comment

Your email address will not be published.


*