दीक्षण समाचार
चरिकाेट, बैशाख २
नयाँ बर्षको अवसरमा बुधबार सुरीका स्थानीय नागरिक, शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले सुरीस्थित मलाया गुफाको भ्रमण गरेका छन् । गौरीशंकर गाउँपालिकाका वडा नं. ५, गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति सुरी र त्यहाँ स्थित १० वटा सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा कार्यक्रम गरी यो अवसर जुराइदिएको हो । भ्रमणमा गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्का, नेपाल कम्यूनिष्ट पार्टी गौरीशंकर गाउँपालिका अध्यक्ष जङ्ग गुरुङ, वडा नं. ५ का वडाध्यक्ष डिल्ली धाेज बस्नेत सहित करिब १ सय ५० जनाको सहभागिता रहेको थियो । नववर्षको पहिलो दिनलाई उल्लासमय बनाउदैं गुफाको अध्ययन अवलोकन गरी थप प्रचारप्रसार गर्ने उदेश्यले स्थानीयहरुसगैं भ्रमण गरिएको आयोजकले जनाएको छ । पालिका अध्यक्ष स्वयम बहादुर खड्काले गुफा अवलोकनपछि देवीदेवताको वासस्थान रहेको उक्त गुफा आन्तरिक पर्यटनको मुख्य आकर्षणको केन्द्र बन्दै गएको बताए । ‘गुफाभित्र पत्थरमा महादेव पार्वति, लक्ष्मी, बुद्ध लगायतका देवी-देवताको आकृति छन् । जहाँ पानी रसाएको पनि देखिन्छ । यसैले यो हिन्दु र बौद्ध धर्मावलम्बी दर्शनार्थीहरूको आस्थाको स्थल मान्न सकिन्छ । गुफाको प्रवेशद्वारमा चट्टानका खुट्किला मिलेर रहेका छन् । यद्यपि यो मानव निर्मित नभई प्राकृतिक हो । त्यसैले यो गुफा अद्भुत छ ।’ उनले भने’ यहाँ सम्म पुग्ने पदमार्ग सहितका संरचना निर्माणका लागि वडा र पालिकाको तर्फबाट विषेश योजना बनाइदैंछ ।’ वडा नं. ५ स्थित वडा कार्यालय, इविथान हुदै छिरु डाडाँसम्म सवारी साधनमा पुग्न सकिन्छ । त्यसपछि भीरको बाटो हुँदै हिड्नुपर्छ । सावधानी अपनाउदैं भिरैभिरकोबाटो हुदैँ हिँड्दा चराको चिरबिरले मनलाई शान्त तुल्याउँछ । करिब डेढ घण्टाको हिँडाइपछि गुफामा पुग्न सकिन्छ । वडाध्यक्ष डिल्ली धाेज बस्नेतले पर्यटन प्रवद्र्धन खातिर पुर्वाधार विकासका लागि अध्ययन गर्ने उदेश्यले वडाका सबै स्थानीय नागरिकको प्रतिनिधि, कर्मचारी, शिक्षकसहित गुफा भ्रमणको आयोजना गरिएको बताए । उनले वडा कार्यालय इविथान देखि छिरुडाडाँसम्म विभिन्न स्थानमा स्थानीय कृषि उपज र उत्पादनको व्यवस्थासहित घरबास सञ्चालन गरिने योजना रहेको बताए । चट्टानयुक्त भीरमा रहेको गुफाभित्रको आकर्षक कलाकृति देख्दा आफु चकित भएको बताउँदै स्थानीय अमृत बहादुर कार्कीले भने ‘ मृत्युपछिको स्वर्ग कल्पनामा मात्र हो । तर आज जिउँदैमा स्वर्ग देख्न पाएँ । धन्यवाद आयोजकलाई प्रकृतिको अनुपम उपहार हेर्ने अवसर मिलाइदिएकोमा ।’
Be the first to comment on "जहाँ देवताको बास छ"