जर्मनीविरुद्ध मेक्सिको : कसको सम्भावना बढी ?

काठमाडौं,– विश्वकप फूटबलमा आज डिफेन्डिङ च्याम्पियन जर्मनीले मेक्सिकोको सामना गर्दैछ ।

जर्मनीले विश्वकपमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ तर मेक्सिको पनि लर्तरो टोली हैन । मेक्सिकोको टोलीमा प्रतिभाशाली खेलाडीहरू छन् र उक्त टोली पछिल्ला ६ विश्वकपका क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । गति, प्राविधिक दक्षता र रणनीतिक कौशल मेक्सिकोका खेलाडीको विशेषता हो ।

मेक्सिकोका प्रशिक्षक ओसोरियो जर्मनीलाई स्तब्ध बनाउने नतिजा ल्याउनेमा ढुक्क छन् । ओसोरियो खेलाडीहरूको सही पोजिसन बनाउन माहिर छन् । खेलाडीहरूलाई बल कता छ अनि विपक्षी खेलाडी कता छन् भन्ने मूल्यांकनका आधारमा उनले परिचालन गर्ने गरेकाले पास गर्ने प्रशस्त विकल्प खेलाडीहरूमा रहन्छ ।

एल त्रि भनेर चिनिने मेक्सिकोको टोलीको मिडफील्ड र अट्याक बलियो छ । हक्टर हेरेरा, आन्द्रेस गुआरदादो, हर्भिङ लोजानो, दोस सान्तोस दाजुभाइ, कार्लोस भेला लगायतका खेलाडीहरू उम्दा छन् ।
यो विश्वकपको सबभन्दा राम्रो अट्याक भएको टोली मेक्सिकोलाई नै मानिएको छ ।

डिफेन्समा पनि हेक्टर मोरेनो, मिगेल लायुन, कार्लोस साल्सिदो, रफाएल मार्केज अनि गोलकीपर गिलेर्मो ओचोआले जुनसुकै आक्रमणलाई रोक्न सामर्थ्य देखाएका छन् ।

यावत् कारणहरूले गर्दा मेक्सिको जोआचिम लोको प्रशिक्षणमा रहेको जर्मनीका लागि खतरनाक प्रतिद्वन्द्वी हो । तर हालै उसले विश्वकपको तयारीका लागि खेलेका खेलहरू त्यति गतिला थिएनन् । उसले स्कटल्यान्डलाई बल्लबल्ल हराएको थियो भने वेल्ससँग गोलरहित बराबरी खेलेको थियो । ती दुवै टोली विश्वकपमा छनोट हुन सकेका थिएनन् ।

जर्मनीको कुरा गर्दा उसका उम्दा खेलाडीहरूले अघिल्लो विश्वकपपछि संन्यास लिएका छन् । तर अहिले पनि जर्मन टोलीमा एकसेएक खतरनाक खेलाडीहरू छन् । अत्यन्तै राम्रो प्रदर्शन गर्ने गोलकीपर म्यानुअल नोयर विश्वकपका लागि टोलीमा फर्केका छन् ।

स्ट्राइकरहरू टिमो लर्नर र थोमस मुलरले आक्रमणको नेतृत्व गरेका छन् भने म्याट्स हम्मल्स र जेरोम बोआटेङको अनुभवी जोडीले डिफेन्सलाई उच्च फर्ममा राखेका छन् ।

टोनी क्रूस, सामी खदिरा, मेसुट ओजिल र इल्के गुन्दोगन जस्ता खेलाडी पाउनु कुनै पनि टोलीका लागि ईर्ष्यालाग्दो उपलब्धि हो ।

तर पूर्णतः फिट भएपनि ओजिललाई चाहिँ पहिलो खेलमा लोले नखेलाउन सक्ने सम्भावना छ । ओजिलले केही समययता खासै राम्रो प्रदर्शन पनि गरिरहेका छैनन् । उनको ठाउँमा जुलियन ड्रेक्सलरलाई ल्याउने सम्भावना देखिन्छ । त्यसो त ड्रेक्सलरले ओजिल एक सिर्जनात्मक खेलाडी भएकाले उनलाई पहिलो खेलमै खेलाइनुपर्ने बताएका छन् ।

विश्वकपको तयारी खेलहरूमा जर्मनीले खासै राम्रो प्रदर्शन गर्न सकेन । अस्ट्रियासँग उसले हार बेहोरेको थियो भने साउदी अरबसँग पनि उम्दा खेल खेलेको थिएन भलै त्यो म्याच उसले जितेको होस् । मेक्सिको तीव्र गतिमा खेल्ने अनि प्राविधिक रूपमा बलियो विपक्षी भएकाले जर्मनीले सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

जर्मनी र मेक्सिकोको प्रतिस्पर्धामा इतिहास जर्मनीको पक्षमा छ । उनीहरूबीच भएका ११ खेलमा जर्मनी पाँचचोटि विजयी भएको छ भने मेक्सिकोले एक जीत निकालेको छ । बाँकी पाँच म्याच बराबरीमा टुंगिएका छन् ।

सन् २०१७ मा रुसमै भएको कन्फेडेरेसन कपमा जर्मनीले मेक्सिकोलाई ४–१ गोलले ध्वस्त पारेको थियो । जर्मनीको मिडफील्डमा एकसेएक उम्दा खेलाडी भएका कारण मेक्सिकोलाई पहिलो खेल सजिलो चाहिँ पक्कै छैन ।
जर्मनीलाई यसपटकको विश्वकप जित्ने प्रबल दाबेदार मानिएको छ ।

तर सन् १९६२ पछि कुनै पनि विश्वविजेता टोलीले लगातार विश्वकप जितेको इतिहास छैन । अझ अघिल्ला केही विश्वकपयता त विश्वविजेता टोली पहिलो चरणबाटै बाहिरिने गरेका छन् । जर्मनीले मेक्सिकोलाई हराएर उक्त अपशकुन तोड्ने आशा गरेको छ ।

Shares

Be the first to comment on "जर्मनीविरुद्ध मेक्सिको : कसको सम्भावना बढी ?"

Leave a comment

Your email address will not be published.


*