इश्वर बिश्वकर्मा
चरिकोट, फागुन २३
दोलखाको सदरमुकाम चरिकोटमा ३ दिने वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । दलित लक्षित कार्यक्रम अन्र्तगत मेलुङ गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो । वाक कलाको विकास गरी, आफ्नो अधिकार प्राप्ति, सुनिश्चितता र समाज रुपान्तरणको लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता सहित मेलुङ गाउँपालिकाका ३८ जना दलित समुदायका व्यक्तिहरूको तालिममा सहभागिता रहेको थियो । नवराज फुँयाल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले सहभागीहरुलाई वक्तृत्वकला तथा उद्घोषण कलासगैं सुखी र स्वस्थ जीवन यापन सम्बन्धी सीप प्रदान गरेका थिए । तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले दलित समुदायको हकअधिकार सुनिश्चितता र छुवाछुत अन्त्यका लागि वाककला तालिमले ‘कोशेढुंगा’को रुपमा काम गर्ने विश्वासका साथ तालिम आयोजना गरिएको बताए । उनले दलित समुदाय सशक्तीकरणका लागि चालु आवमा थुप्रै योजना निर्माण गरिएको र योजना अनुसार कामलाई पनि तिब्रता दिएको बताए । त्यस्तै गाउँपालिका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष हिरा थोकरले दलित र गैरदलित बीचमा अझै कायम रहेको छुवाछूत अन्त्य गर्दै सभ्य समाजको निर्माणको लागि अभिभावकहरुले आफ्ना बालबालिकालाई औपचारिक शिक्षा दिनुपर्ने भनाई व्यक्त गरे । शिक्षा नै समाज रुपान्तरणको वाहक भएको बताउँदै उनले शिक्षा र सचेतनालाई पहिलो प्राथमिकता राखेर पालिकाले काम गरिरहेको धारणा व्यक्त गरे । त्यस्तै दलित संघ दोलखाका अध्यक्ष चेत बहादुर बिश्वकर्माले दलित समुदायको बीचमा हुने विभेदलाई अन्त्य गरी सबै दलितका संगठित आवाजहरु बुलन्द पार्नुपर्ने बताए । जस्तोसूकै परिस्थित र चुनौतीको सामाना गर्दै विभेद बिरुद्ध बैचारिक आन्दोलन गर्ने तर यसरी पनि विभेद उन्मुलन नभए अन्य विकल्प पनि रोज्नुपर्ने बताउदैँ दलित युवाहरु जाग्ने पालो आएको उनको धारणा रहेको थियो । तालिममा सहभागी कमल लकान्द्रिले दलित समुदायको सशक्तिकरण र वाककलाको विकासको लागी पालिकाले तालिमको आयोजना गरेको भन्दै खुसी व्यक्त गरे । उनले भने “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने झैँ अब मेलुङ गाउँपालिकाका दलित समुदायका नागरिकहरु गाउँगाउँबाट आफ्नो हकअधिकार सुनिश्चिततासगैँ समाज रुपान्तरण र परिवर्तनको आव्हान सहित बलियो र एकिकृत भएर आवाज बुलन्द पार्ने छौँ ।” पालिकाका दलित सञ्जालकी अध्यक्ष रेखा तिरुवाको अध्यक्षतामा भएको तालिम समापन समारोहमा गाउँ कार्यपालिका सदस्य सविना आचार्य, राष्ट्रिय दलित पत्रकार संघ नेपाल दोलखाका अध्यक्ष सुदिप रसाइली र गाउँपालिकाका दलित महिला वडासदस्यहरुको सहभागीता रहेको थियो ।
Be the first to comment on "छुवाछुत विरुद्ध आवाज बुलन्द पार्दै दलित समुदाय"