चोयाबाट निर्मित सामाग्रीको व्यापार घट्यो

ईश्वर विश्वकर्मा,चरिकोट ः दोलखामा कृषि, निर्माण र घरायसी प्रयोजनको लागि प्रयोग हुने चोयाका सामाग्रीहरुको बिक्री घट्न थालेको पाईएको छ । प्लाष्टिकजन्य आयातित आधुनिक सामाग्रीहरुको प्रयोग बढेसँगै पराम्परागत डोको, डालो, धुन्से, भकारी, नाङ्लो लगायतका साामाग्रीहरुको व्यापार घटेको पाइएको हो ।
पहिले चोयाबाट बुनेका समानको माग ठूलो रहेकोमा अहिले माग घटेको चोयाका सामान उत्पादन गरी विक्री गर्दै आएका दोलखाका स्थानीयहरुको भनाई छ । ५० वर्षदेखि चोयाका सामाग्री उत्पादन गर्दै आउनु भएका भीमेश्वर नगरपालिका ४ जिलुका कृष्णबहादुर बिश्वकर्माले आफ्नो पेशा संकटमा पर्न थालेको बताउनु भयो । “पहिलेपहिले घरबाटै चोयाका सामाग्री बिक्री हुन्थ्यो । तर अहिले गाउँदेखि बजारसम्म लैजाँदा पनि बिक्री हुँदैन । ” उहाँले भन्नुभया,े “आयातित सामाग्रीको प्रयोग बढ्नु र कृषि पेशा गर्नेहरु घट्दै जानु लगायतका कारण निगालो र बाँसका सामाग्रीको व्यापार कम भएको हो ।”
चोयाका सामाग्रीहरुको बिक्री घटेपछि घरधन्दा चलाउनै मुस्किल पर्न थालेको उहाँको गुनासो छ । “डोको, डालो बुनेर नै छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलेको थियो । तर अहिले त विक्री हुनै छाडेर समस्या भएको छ ।”
शैलुङका श्यामबहादुर श्रोष्ठले पनि स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ र सीपबाट निर्मित सामाग्रीहरुको कारोबार खस्किएपछि यसमा आश्रितहरु निराश भएको बताउनु भयो । यस्ता सामाग्रीहरुको बिक्री घटेसँगै आम्दानीको स्रोत समेत गुम्नुका साथै सीप पनि लोप हुने खतरा बढेको उहाँले बताउनु भयो । “चोयाका सामाग्रीहरु विपन्न समुदायको आम्दानीको स्रोत थियो । तर अहिले बिक्री घट्दा उनीहरु आर्थिक संकटको चपेटामा पर्दै गएका छन् ।” उहाँले पराम्परगत सिपको संरक्षण र उत्पादित सामाग्रीहरुको बजारीकरणमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

Shares

Be the first to comment on "चोयाबाट निर्मित सामाग्रीको व्यापार घट्यो"

Leave a comment

Your email address will not be published.


*