चरिकोट (दीस) ः चेम्बर अफ कमर्स दोलखामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार दोलखा सदरमुकाम चरिकोटमा भएको तेस्रो अधिवेशनले रुद्रजंग बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
१६ सदस्यीय नयाँ जिल्ला कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ठकुरी, प्रथम उपाध्यक्ष राजकुमार खड्का, द्वितीय उपाध्यक्ष लिला बहादुर केसी सुवेदी चयन हुनु भएको छ। यसैगरी, महासचिव रामकृष्ण श्रेष्ठ, सचिव कृष्ण नेपाली, कोषाध्यक्ष भरत बस्नेत र सहकोषाध्यक्ष पवित्रा केसी चयन हुनु भएको छ।
कार्यसमितिका सदस्यहरूमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ चयन हुनु भएको छ।
शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न संस्थाको छैटौं साधारणसभा संस्थाका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा र नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अग्रवालले अर्थतन्त्रको ओरालो यात्राका बेला व्यवसायीका धितो लिलामी प्रक्रियामा जान बैंक तथा वित्तीय संस्थाहरूलाई रोक्नुपर्ने बताउनु भयो। उहाँले आर्थिक बोझले थलिएका व्यवसायीहरूलाई उल्टै तनाव दिने गरी धितो लिलाम गर्नु अन्यायपूर्ण भएको भन्दै, तत्काल धितो लिलाम गर्ने काम रोक्न सरकारले विधिवत प्रक्रिया थालनी गर्नुपर्ने बताउनु भयो।
साधारणसभामा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्की, दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश पाठक, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले मन्तव्य व्यक्त गर्नु भएको थियो।
अधिवेशनमा कोषाध्यक्ष राजकुमार खड्का र उपाध्यक्ष रुद्रजंग बुढाथोकीले आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
Be the first to comment on "चेम्बर अफ कमर्स दोलखामा नयाँ नेतृत्व चयन"