ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ६
दोलखाको सदरमुकाम चरीकोटमा पेय पदार्थ, चाउचाउ, बिस्कुट लगायतका सामाग्री नष्ट गरिएको छ । चरीकोट बजारको पसलहरुमा म्याद सकिएर खान अयोग्य वस्तुहरु व्यापारीले बेच्न राखेको पाइएपछि अनुगमनको क्रममा जफत गरिएको थियो । ती सामाग्रीहरु आइतबार नष्ट गरिएको भीमेश्वर नगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमला बस्नेतले बताउनुभयो । बस्नेतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसहितका प्रतिनिधित्वमा रहेको बजार अनुगमन टोलीले नगरपालिकाको मुख्य व्यापरिक क्षेत्रहरु वडा नं। ३ र ६ का पसलहरुमा अनुगमन गरेको थियो । सो क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड हुने गरी मिति सकिएका सामाग्री बिक्रीका लागि राखिएको पाइएकोले जफत गरिएको र आइतबार नष्ट गरिएको भीमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत माधवप्रसाद सुवेदीले बताउनुभयो । उहाँले बजारमा व्यापारीहरुले उपभोक्तालाई मारमा पार्ने अवस्था रहेकोले उपभोक्ता स्वयम सचेत भएमा उक्त समस्याबाट जोगिन सकिने बताउनुभयो ।
Be the first to comment on "चरीकोटमा चाउचाउ, बिस्कुट, पेयपदार्थ नष्ट गरियो"