ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २७
दोलखाको सदरमुकाम चरीकोटमा शुक्रबारदेखि २ दिने खोज तथा उद्धार तालिम सुरु भएको छ । नेपालमा अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण प्रबद्र्धन परियोजना तेस्रो अन्तर्गत गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनामा विपद् पछिको खोज तथा उद्धारमा समुदाय संलग्नताको लागि तयारी हुन तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले गर्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका साथै विपदपछि बढी क्षति हुनबाट जोगाउने उपायबारे सम्बन्धित समुदायलाई प्रशिक्षण दिएर तयार अवस्थामा राख्नुपर्ने सुनाउनुभयो । सबैभन्दा पहिले जोखिम पहिचान गरी त्यसको न्यूनीकरणमा जोड दिइनुपर्छ । त्यसमा समुदायको सहभागिता अपरिहार्य हुन्छ । प्राकृतिक विपद्का घटना कसैलाई थाहै नदिई अकस्मात हुने भएकोले त्यसपछिको परिस्थितिलाई सामना गर्न सक्ने र तत्काल खोज उद्धार कार्य गरेमा बढी क्षति हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । विपद्पछि खोजउद्धार कार्यमा समुदायको सहभागिताका लागि प्रशिक्षित बनाउन सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो । उद्घाटन समारोहमा दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले पठन बानीको विकास गरी संस्कृति बनाएमा मानवीय जीवनले सार्थकता पाउन सहयोग मिल्ने बताउनुभयो । गौरीशंकर सामुदायिक पुस्तकालयले अध्ययनको लागि पुस्तक सेवा उपलब्ध गराउने मात्र नभई सामाजिक गतिविधिमा समेत आफूलाई केन्द्रीत गर्नु आफैँमा तारिफयोग्य विषय रहेको उहाँले सुनाउनुभयो । विपदले ल्याउने विनाश अकल्पनीय र दुखद हुनेभएकोले त्यसबेलाको खोज उद्धार प्रभावकारी बनाउन सक्नुपर्ने उहाँको जोड थियो । पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले १२ औँ पुस्तकालय दिवसमा राष्ट्रव्यापी उत्कृष्ट हुन सफल गौरीशंकर सामुदायिक पुस्तकालयले समाज रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने उद्धेश्य अनुरुप रिड नेपालसँगको साझेदारीमा विविध कार्यक्रममा क्रियाशील भएको सुनाउनुभयो । पुस्तकालयले पठन कार्यमा सघाउनका साथै आर्थिक रुपान्तरण र विपद् जोखिम न्यूनीकरण लगायतका विषयमा समुदायलाई बेलाबेलामा तालिम दिइरहेको र सोही कार्यको निरन्तरता स्वरुप खोज उद्धार तालिम आयोजना गरिएको उहाँले सुनाउनुभयो । तालिममा २० जना स्थानीय युवाहरुको सहभागिता रहेको छ । तालिममा कार्यपत्र प्रस्तुतिका साथै खोज उद्धार सम्बन्धि प्रयोगात्मक अभ्यास गराइने आयोजकले जनाएको छ ।
Be the first to comment on "चरीकोटमा खोज उद्धार तालिम सुरु"