दीक्षण समाचार
चरिकोट, असोज १२
दोलखाको सदरमुकाम चरिकोट बजारमा ठाउँठाउँमा डस्बिनको आवश्यकता थियो । तर जथाभावी फोहोर फाल्न मनाही भनिएपनि डस्बिन नहुँदा यात्रुलाई फोहोर व्यवस्थापनमा समस्या थियो । सचेत र सभ्य नागरिकको पहिचान दिन खोज्ने व्यक्तिले समेत डस्बिन खोज्दा पनि नभेटाएपछि सडकमै फोहोर फाल्न बाध्य हुन्थे, गोजीमा हाल्न मिल्ने किसिमको भए गोजीमै राखेर पनि हिँड्थे । तर अब चरिकोट बजारको त्यो दुरावस्था हट्ने भएको छ ।
सरसफाइ अभियान अन्तर्गत चरिकोटका विभिन्न स्थलमा डस्बिन राखिन लागिएको छ । डिभिजन वन कार्यालय दोलखाले डस्बिन उपलब्ध गराएको एक सय वटा डस्बिन बजारका विभिन्न स्थानमा यात्रुलाई लक्षित गरेर राखिने भएको हो । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले बजारका सडक, सडकपेटी लगायतका सार्वजनिक क्षेत्र फोहोर मुक्त बनाउने उद्देश्यले सरसफाइ अभियान चलाइएको र सोही अभियान अन्तर्गत डस्बिन राख्न लागिएको बताउनु भयो । उहाँले बजारलाई सफासुग्घर, हराभरा र पर्यटकीय दृष्टिले आकर्षक बनाउन डस्बिनले सहयोग पुग्ने बताउनु भयो ।
सामाजिक, सांस्कृतिक र मानवीय क्षेत्रमा क्रियाशील युवा समूह लालीगुराँस युवा क्लबलाई बजारमा डस्बिन राख्ने गरी हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष प्रविण श्रेष्ठले मंगलबार बेलुकादेखि नै बजारमा डस्बिन राखिने बताउनु भयो । कुहिने र नकुहिने फोहोर राख्नका लागि छुट्टाछुट्टै डस्बिन राखिने छ । सबैले अपनत्वका साथ डस्बिन प्रयोग गर्दै हराउन र चोरी हुनबाट जोगाउनु पर्ने नगरले जनाएको छ । पर्यटकीय बजार चरिकोट जिल्लाकै आकर्षक बजार हो । यसको थप सौन्दर्यकरण र व्यवस्थापनका लागि नगरपालिकाले पछिल्लो समय चासोका साथ काम गरिरहेको छ । डिभिजन वन कार्यालयले जिरी नगरपालिकाको लागि ८० र सिँगटी बजारका लागि पनि २० वटा डस्विन उपलब्ध गराएको हो ।
Be the first to comment on "चरिकोट बजारका ठाउँठाउँमा डस्बिन"