चरिकोट, जेठ १
कोभिडका संक्रमित व्यक्ति निको हुने आशा सहित अस्पतालमा भर्ना भएपनि अक्सिजनको अभावले ज्यानै गुमाउनु परेको दुखद खबरहरु सार्वजनिक भइरहेका छन् । दोलखामा पनि दिनप्रतिदिन नयाँ संक्रमित थपिदैं जाँदा जटिल समस्या भएका कोभिड बिरामीहरु अस्पताल भर्ना हुने क्रम बढेको छ । अस्तालमा भर्ना भएका ति व्यक्तिहरूले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ दोलखा प्रहरीले अक्सिजन सिलिन्डर संकलन गरी कोभिड संक्रमितको उपचार व्यवस्थापन भईरहेको चरिकोट अस्पताललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर चरिकोट अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको हो । जसमध्ये ३१ वटा खाली र २७ वटा भरिएका अक्सिजन सिलिन्डर रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । गत शनिबारदेखि जिल्लामा सञ्चालित हाइड्रोपावर, क्रसर उद्योग, मोटर ग्यारेज लगायत अक्सिजन प्रयोग हुने योजना तथा परियोजना र उद्योगबाट संकलित अक्सिजन सिलिन्डर खोजी संकलन सूरु गरिएको थियो । संकलित अक्सिजन सिलिन्डर अक्सिजन दिने योजना तथा परियोजना र उद्योगलाई अवस्था सहज भएपछि फिर्ता गर्ने गरी अस्पतालले कोभिड संक्रमित उपचारका लागी प्रयोग गर्न थालिएको छ । खाली सिलिन्डर भने भर्न पठाईएको छ । यसैबीच जिल्लाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । प्लान्ट निर्माणपछि जिल्लामा कोभिड बिरामीलाई अक्सिजनका लागी सहज हुने छ ।
Be the first to comment on "चरिकोट अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण"